आज कृष्ण जन्माष्टमी पर्व, देशभर धुमधामका साथ मनाईंदै

कृष्ण जन्माष्टमी पर्व आज देशभर धुमधामका साथ मनाईंदै छ । द्वापर युगमा भगवान् श्रीकृष्णले आजकै दिन पृथ्वी लोकमा जन्म लिनु भएको  हिन्दु धार्मिक शास्त्रहरुमा उल्लेख छ ।

 

भक्तजनहरु आज विहान सबेरै नुहाई धुवाई गरेर भगवान श्रीकृष्णको पूजाआजा गर्ने गर्दछन् भने राति अबेर सम्म जाग्राम वसी भजन किर्तन गर्ने गरिन्छ । कृष्ण जन्माष्टमीकै अवसरमा ललितपुर, पाटनको कृष्ण मन्दिर लगायत देशभरका राधाकृष्ण मन्दिरहरुमा आज भक्तजनहरुको घुईंचो लागेको छ ।

 
आजका दिन भक्तजनहरुले श्रीकृष्णको प्रिय वस्तु दही र मयूरको प्वाँख चढाएर पूजा गर्दछन् । दुष्ट राजा कंशको विनासका लागि भगवान कृष्णले द्वापर युगमा पिता वासुदेव र माता देवकीको कोखबाट जन्म लिनु भएको थियो । कृष्ण जन्माष्टमीलाई अन्याय, अत्याचारको अन्त्य र असत्यमाथि सत्यको विजयको दिवसका रुपमा पनि लिइन्छ ।


 
यसै अवसरमा राष्ट्रपति डा. रामवरण यादवले पाटन स्थित कृष्ण मन्दिरमा गई भगवान श्रीकृष्णको दर्शन गर्नुका साथै पूजाआजा गर्दै छन।