च्याम्पियनसिप फुटबल प्रतियोगितामा बिमलको गोलले नेपाल-पाकिस्तान बराबरी
भाद्र १८ गते, २०७० मा प्रकाशित
काठमाडौं – थपिएको समयमा गोल गरेर बिमल घर्ती मगरले नेपाली टोलीको उद्दार गरेका छन् । पाकिस्तानसँगको आफ्नो दोस्रो म्याचमा हार नजिक पुगेको नेपाली टोलीको लागि उनले अन्तिम समयमा गोल गरे ।
हसन वासिरले १४ औं मिनेटमा गरेको गोलले अग्रता लिएको पाकिस्तानलाई भेट्टाउन नेपालले थपिएको समयको सहारा लिनुपर्यो । लगातार आक्रमण गर्दा पनि गोल गर्न असफल नेपाली टोलीलाई ६५ औं मिनेटमा मैदान प्रवेश गरेका बिमलले खेलको अन्तिम मिनेटमा गोल गरेर अंक बाड्ने अवस्थामा पुर्याए ।
गोल गर्न नसके पनि नेपालले सह्राहनीय खेल प्रदर्शन गर्यो । पहिलो हाफको सुरुमै गोल खाएपछि दबाबमा रहेको टोलीले खेल अवधीभर आक्रमण शैलीको खेल पस्कियो । पूरा अवधीभर खटेर खेलेको नेपाली टोलीमा मंगलबार पनि पुरानै रोग दोहोरियो ।
जगजित श्रेष्ठ घाईते भएकाले पाकिस्तानविरुद्ध उनको स्थान भरत खवासले लिए भने जुमनु र अनिलले अघिल्लो पंक्ती सम्हाले । तर, बिपक्षी टोलीका गोलकिपरसँग ठोक्किएर घाइते अनिल ३९ औं मिनेटमा बाहिरिए । उनको स्थानमा मैदान प्रवेश गरेका टंक बस्नेतलाई सब्सिच्युट गर्दै ६६ मिनेटमा बिमलले राष्ट्रिय टोलीको औपचारीक प्रदर्शनमा डेब्यू गरेका थिए ।
आक्रामक शैलीमा खेलेर गोलको धेरै अवसर सिर्जना गरेपनि नेपाल गोल गर्न भने असफल रह्यो । पाकिस्तानका डिफेन्डर जेसन रहमान खेलभर नेपाली डिफेन्डरको अवरोध बने । शारीरिक रुपमा बलिया र अग्ला पाकिस्तानी खेलाडीले नेपाली टोलीको लामो पास र हेडहरु बिफल तुल्याएका थिए ।
नेपालको आक्रामक खेलपछि पहिलो हाफमै अग्रता लिएको पाकिस्तान रक्षात्मक रणनीति अपनाउन बाध्य भएको थियो । पाकिस्तानसँग हारेको भए नेपालको दोस्रो चरणको यात्रा कठीन थियो । अंक बाँडे पनि नेपालको दोस्रो चरणको यात्रा सम्भावना बाँकी छ ।
शनिबार पहिलो खेलमा बंगलादेशलाई २-० ले हराएको नेपाल आजको खेलसँगै गोलको आधारमा समूह ए को शिर्ष स्थानमा छ । एक जित र एक बराबरीले नेपालको ४ अंक छ । समूह ए कै अर्को टोली भारतले पनि एक जित र बराबरीसँगै ४ अंक जोडेको छ । भारतले मंगलबार बंगलादेशसँग बराबरी खेलेको छ । – Nagariknews