काठमाडौ – काठमाडौंमा जारी साफ च्याम्पियनसिपको सेमीफाईनलमा नेपालको भिडन्त अफगानीस्तासँग हुने भएको छ । आज भएको समूह बी को अन्तिम खेलमा माल्दिभ्ससँग बराबरी खेलेपछि गोल अन्तरको आधारमा अफगानीस्तान समूह दोस्रो भएको हो ।
आफ्ना महत्वपूर्ण खेलाडीलाई आराम दिएको माल्दिभ्सलाई अफगानीस्तानले गोल गर्न नसक्दा उसले आयोजक राष्ट्रको सामना गर्नुपर्ने अवस्था आएको हो । समूह बी को शिर्ष स्थानमा रहँदै सेमीफाईनल पुगेको माल्दिभ्सले समूह ए को उपबिजेता भारतको सामना गर्नुपर्ने छ ।
कप्तान तथा महत्वपूर्ण स्ट्राईकर सुनिल क्षत्री बिना उत्रिने भारत माल्दिभ्सको लागि सहज बिपक्षी पनि हुनसक्छ । दुई पहेलो कार्ड पाएका कारण सुनिलले सेमीफाइनल खेल्न पाउँनै छैनन् ।
समूह ए को बिजेता बन्दै सेमीफाईनल पुगेको नेपालको समूह बी को उपबिजेता अफगानीसँगको भेट सहज भने हुँने छैन् ।
भारतीय र यूरोपेली लिग खेल्ने अफगानीस्तानका खेलाडी नेपाली भन्दा फिजिकल्ली र टेक्निकल्ली बलिया छन् ।
गत बर्ष भारतमा सम्पन्न साफ च्याम्पियनसिपको सेमीफाईनलमा अफगानीस्तानसँग १-० ले पराजित नेपालको लागि आईतबार हुने सेमीफाईनल बदला लिने अवसर पनि हो ।
नेपालले समूह चरणको पहिलो खेलमा बंगलादेशलाई २-०, भारतलाई २-१ ले हराएको थियो भने पाकिस्तानसँग १-१ को बराबरी खेलेको थियो । अफगानीस्तानले समूह चरणमा कमजोर बिपक्षी भुटानलाई ३-० र श्रीलंकालाई ३-० ले हरायो । समूह चरणको अन्तिम खेलमा अफगानीस्तानले माल्दिभ्ससँग बराबरी खेल्यो ।
उता, हलचोक मैदानमा भएको समूह बी अन्तर्गतको श्रीलंका र भुटान बीचको खेल ५-२ मा सकिएको छ । प्रतियोगिताबाट बाहिरिएको दुवै टोलीको खेल औपचारीकताको लागि मात्रै थियो । – Ekantipur