सिरियाका राष्ट्रपतिद्धारा दमास्कसमा भएको घटनामा आफू जिम्मेवार नरहेको दावी

सिरियाका राष्ट्रपति बसार अल असादले पछिल्लो महिना दमास्कसमा भएको घटनामा आफू जिम्मेवार नरहेको दावी गरेका छन् । अमेरिकी टेलिभिजन सिबिएसलाई दिइएको अन्तर्वार्तामा उनले अमेरिकासँग आफूबिरुद्ध प्रमाण भए देखाउन चुनौती पनि दिए । यता अमेरिकी सिनेटको एक प्रतिनिधिमण्डलले भने २१ अगस्टमा सिरियामा भएको रासायनिक हतियार आक्रमणका १३ वटा भिडियो सार्बजनिक गरेको छ ।


सिनेटको गुप्तचरी समितिले ती भिडियो सार्बजनिक गरेको हो । यसैबीच अमेरिकाबाट प्रकाशित हुने लसएन्जलस टाइम्सले सिरियामाथि ३ दिने आक्रमण योजनाको खुलासा गरेको छ । उता, अमेरिकी विदेशमन्त्री जोन केरीले आफू र अरब लीगका विदेश मन्त्रीहरु रासायनिक हतियार प्रयोग गरेर सिरिया सरकारले अन्तर्राष्ट्रिय रेड लाइन क्षेत्र उल्लंघन गरेको निष्कर्ष निकालेको बताएका छन् ।


फ्रान्सको पेरिसमा भएको छलफलपछि केरीले यो जानकारी दिएका हुन् । राष्ट्रपति बाराक ओबामाले सिरियामा रासायनिक हतियार प्रयोग सम्बन्धी प्रकरणमा अमेरिका चुप लागेर बस्न नसक्ने चेतावनी दिएलगत्तै यो खुलासा भएको हो । सिरियामाथि सैन्य हस्तक्षेप गरिने तर त्यो युद्ध इराक र अफगानिस्तानको जस्तो नहुने ओबामाको भनाइ छ ।

 

Agencies