नेपाली गीतसंगीत क्षेत्रका वरिष्ठ गायक फतेमान राजभण्डारीको निधन

गायक फत्तेमान राजभण्डारीको निधनकाठमाडौं, भाद्र २५ । नेपाली गीतसंगीत क्षेत्रका वरिष्ठ गायक फतेमान राजभण्डारीको गएराति निधन भएको छ । ७७ वर्षिय वरिष्ठ गायक राजभण्डारीको गएराती १२ बजेर ५० मिनेट जाँदा राजधानीको ओम अस्पतालमा निधन भएको हो । मर्नबरु गाह्रो हुन्न, रातो चन्द्र र सूर्य जस्ता नेपालीको जनजिब्रोमा टाँस्सिने कालजयी गीत गाउनु भएका गायक राजभण्डारीको फोक्सोको क्यान्सरका कारण निधन भएको हो ।


 नेपाली संगीत आकाशका मूर्धन्य कलाकार राजभण्डारी केहीदिन यता अस्पतालमा उपचारार्थ भर्ना गरिनु भएको थियो । शुरुमा मुटुको नशा च्यापिएको आशंकामा अस्पताल लगिए पनि पछि फोक्सोमा क्यान्सर देखिएको थियो । बि सं १९९३ सालमा पशुपतिको देवपतनमा जन्मनुभएका गायक फतेमानलेको पहिलो गीत यस्तो पनि हुँदो रहेछ हो ।


जुन २०२६ सालमा रेडियो नेपालबाट पहिलोपटक गुन्जेको थियो । बनै खायो डढेलोले मनै खायो त्यै मोरीको पापी मायाले, सान्नानीको गालैमा कालो कोठी रहेछ, जिन्दगीको पानाभरी खुशी भेटिएन, बिर्सेर ती दिनहरु, तिम्रा दुखहरु बोलका गीत र केही भजनसमेत गरी उहाँका चार सयभन्दा बढी गीत चर्चित छन् ।


 उहाँप्रति अन्तिम श्रद्धाञ्जलीका दिन पार्थिव शरीर पशुपति पञ्चदेवलमा राखिएको छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिँदैछ । स्वर्गीय राजभण्डारीका श्रीमती, दुई छोरा र तीन छोरी हुनुहुन्छ ।

 

RSS