काठमाडौं । आजदेखि सोह्रश्राद्ध अर्थात पितृपक्ष सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि औंशी तिथिसम्म रहने सोह्रश्राद्धमा छोरा छोरीहरुले आफ्ना दिवंगत पितृहरुको श्राद्ध तथा तर्पण गर्ने गर्दछन् ।
१६ दिनसम्म रहने यस पक्षमा घरमै वा नजिकका तीर्थ तथा तालकुण्डमा गई स्नान गरी वैदिक विधिअनुसार पितृहरुलाई पिण्डदान र तर्पण गर्ने गरिन्छ । काठमाडौंको पशुपति, गोकर्ण, जनकपुरको गंगासागर, कालीगण्डकी किनारका विभिन्न तीर्थस्थलहरु लगायतका नदी किनारमा आज बिहानैदेखि श्राद्ध गर्नेहरुको भीड लागेको छ ।
यो अवधिभर बाबुआमा नहुनेहरुले लसुन, प्याज, माछामासु लगायतका तामसी परिकारहरु खान नहुने धार्मिक विश्वास समेत रही आएको छ । यस अवधिभर बाबुआमा नहुनेहरुले एकछाक मात्रै खाने चलन समेत छ ।
आश्विन कृष्ण पक्षमा सूर्य कन्या राशिमा रहेको बेला पितृका निम्ति पर्व जस्तै हुने धार्मिक मान्यता रहेको छ । हिन्दू धर्ममा पितृको स्थान देवताको भन्दा पनि माथि रहने गर्दछ ।



