मिस नेपाल इशानी श्रेष्ठ मिस वर्ल्डको फाइनल चरणमा प्रवेश

मिस वर्ल्डको अन्तिम स्पर्धामा इशानी

 तस्बिर सौजन्य: मिस वर्ल्ड नेपालको अफिसियल फेसबुक

 

काठमाडौं- मिस नेपाल इशानी श्रेष्ठ मिस वर्ल्डको फाइनल चरणमा प्रवेश गरेकी छन्। ‘ब्युटी विथ अ परपस्’ विधामा उत्कृष्ट हुँदै इशानी अन्तिम स्पर्धाका लागि छनौट भएकी हुन्। शनिबार इन्डोनेसियाको बालिमा हुने अन्तिम स्पर्धामा उनले आफ्नो प्रस्तुतीसमेत देखाउने छन्। विभिन्न छ विधा रहेको मिस वर्ल्डका विजेता सिधै अन्तिम स्पर्धाका लागि छनौट हुने प्रावधान छ।

‘मिस वर्ल्डको अन्तिम स्पर्धामा नेपाली सांस्कृतिक नृत्य देखाउन म छानिएको छु,’ मिस वर्ल्ड नेपालको फेसबुकमा इशानीले लेखेकी छन‍्, ‘१ सय ३० सहभागीमध्ये ११ जनामात्र यसका लागि छानिएका हुन्।’


इशानीले फेसबुकमार्फत् अन्तिम स्पर्धाको रात आफ्नो नृत्य हेर्न नछुटाउन सबैमा आग्रह गरेकी छन्। यसअघि मलिना श्रेष्ठले पनि यो अवसर पाएकी थिइन्।

 

‘ब्युटि विथ अ परपस्’का लागि इशानीले जुम्लामा पुगेर ‘प्रोजेक्ट स्माइल’ नामको बृत्तचित्र निर्माण गरेकी थिइन्। सोही भिडियोले उनलाई अन्तिम स्पर्धाका लागि छनौट गराएको हो।