रुकुममा सामूहिक दसैं मनाउन एकै ठाउँ जमरा

रुकुम – गाउँमा सामाजिक सद्भाव र मेलमिलाप कायम गर्न रुकुम जिल्लाको स्यालाखदीका स्थानीयवासीले गाउँमा सामूहिक रूपमा स्थानीय मस्टाभगवती मन्दिरमा शनिबार सामूहिक जमरा राखेका छन् ।
स्थानीयले अघिल्लो वर्षदेखि सामूहिक दसैं मनाउन थालेका हुन् । स्यालाखदी ८, रोकाजाका ३० परिवारले गाउँको मस्टाभगवती मन्दिरमा सामूहिक जमरा राखेका हुन् । स्थानीयवासीले यसपालिको दसैं धुमधामसँग मनाउने गरी गाउँका सबै घरबाट जमराका लागि बीउ जम्मा गरी कालिका मन्दिरमै चार वर्गमिटर क्षेत्रफलमा जमरा लगाएको जनाएका छन् ।
कालिका मन्दिर व्यवस्थापन समिति अध्यक्ष करण परियारले सबै गाउँलेबीच दसैं सामूहिक तरिकाबाट मनाउने निर्णय भएको बताए । ‘हामीले सामूहिक दसैं मनाउन थालेका छौं,’ उनले भने, ‘दलित र गैरदलितबीचको भेदभाव कम गर्न पनि यसो गरिएको हो ।’ उनले गाउँको एक घरबाट एक जना अनिवार्य उपस्थित भएर घटस्थापनादेखि पूणिर्मासम्म सामूहिक पूजा गर्ने चलन सुरु गरिएको बताए । ‘हामीले सबैलाई धर्म र अनुशासनमा बाँध्न खोजेका हौं ।’
मन्दिरका पुजारी वीरध्वज पौडेलले भने, ‘सामूहिक दसैं मनाउँदा स्थानीयवासीमा सामञ्जस्य र आत्मीयता कायम हुन्छ ।’ उनले सामूहिक दसैंले कम खर्च हुने र झैंझगडा कम हुने जनाए ।
एउटै थलोमा  गाउँले मिलेर दसैं मनाउँदा लागेको खर्च सबै घरबाट जम्मा गरिने मन्दिर व्यवस्थापन समिति सचिव शैलेन्द्र पुनले बताए । उनले अष्टमीका दिनमा गाउँले मिलेर किनेका दस वटा बोका बलि दिने जनाए । ‘हामी विजयादशमीको दिनमा पनि सँगै बसेर टीका लगाउने छौं ।’ पुनले भने, ‘गाउँका सबैभन्दा वृद्धबाट टीका लगाउने कार्यको सुरुवात हुनेछ र मन्दिर परिसरमै मान्यजनबाट टीका लगाइने काम हुनेछ ।’
उनले गाउँमा यसपालि महिला समूहले मदिरा निषेधित गरेकाले झैंझगडा कम हुने बताए । स्थानीय बासिन्दा परम्परा धान्न मात्रै नभएर सकारात्मक सन्देश दिनका लागि सामूहिक दसैं मनाउन सुरु गरेको बताउँछन् । – कान्तिपुर