काठमाण्डौं । नेपालीहरुको महान चाड तिहार अर्थात यमपञ्चकको चौथो दिन आज नेपालीको घर आँगनमा परम्पराअनुसार गोरु पूजा, गोवर्धन पूजा र म्हःपूजा गरिँदै छ ।
आज नेपालीहरूले आ-आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोवर्धन पर्वतको आकृति बनाई गोवर्धन पूजा गर्दछन् ।
आज समस्त कृषकजनले विशेष गरी गाईको बाच्छो वा गोरुको पूजा गर्ने गर्छन् । गोरुले कृषकको जमिन जोत्न र गाडा तान्न सहयोग गरेकाले विभिन्न परिकार नाङ्गलामा राखी गोरुलाई खुवाउने र पूजा गर्ने परम्परा छ ।
गाईको गोबरले घर तथा आँगन लिपपोत गर्नाले अन्य शत्रु जीवाणुले आक्रमण गर्न सक्दैन भन्ने विश्वास गरिन्छ ।
आज गोबरको पूजा गर्ने दिन भएकाले कृषकहरूले गोबरलाई सम्मान गर्ने गर्दछन् । गोबरबाट प्राङगारिक मल बनाई विषादीरहित फसल उत्पादन गर्नसक्ने भएकाले पनि गोबरको पूजा गर्ने चलन परम्परादेखि नै चल्दैआएको पण्डित गोविन्द वाग्लेले बताउनुभयो ।
गोबरलाई परम्परादेखि नै इन्धनको रूपमा पनि प्रयोग गरिँदै आएको छ । गाईको गोबरबाट तयार गरिएको गुइँठाबाट खानेकुरा पकाउने चलन अझै कायम छ ।
गाईवस्तु पाल्ने कृषकका लागि घाँसपात उपलब्ध गराएर सहयोग पुर्याउने भएकाले पर्वतको प्रतिनिधि गोवर्द्धन पर्वतको पनि आजै पूजा गरिन्छ । गाईको गोबरको पर्वत तथा कुण्ड बनाई अनेक तरहले गोवर्धन पर्वतलाई पूजा गर्ने परम्परा नेपाली समाजमा छ ।
द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई वर्षाबाट बचाई इन्द्रको घमण्ड नष्ट गरिदिनु भएकाले त्यसै बेलादेखि गोवर्धन पर्वतको पूजा गर्ने चलन चलेको हो भन्ने धार्मिक विश्वास रहेको छ ।
त्यसैगरी आजै नेवार समुदायमा पनि साँझ परिवारका सम्पूर्ण व्यक्ति बसी म्हःपूजा अर्थात् आत्मपूजा गर्ने चलन छ ।
संसारमा सबैभन्दा ठूलो आत्मा हो । आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ ।
म्हःपूजा अर्थात स्वयम् पूजा गर्ने प्रथा नेवारी समुदायको ठूलो पर्व हो । नेवारी भाषामा म्हःको अर्थ शरीर हो । यस दिन परिवारको प्रत्येक सदस्यलाई घरमूलीले पूजा गर्ने चलन छ ।
काठमाडौं – नेपाल पञ्चांग निर्णयक समितिले यसपालि भाइटीकाको उत्तम साइत मंगलबार बिहान ११.२७ बजे रहेको जनाएको छ । तिहारको अन्तिम दिन भाइटीकामा दिदी-बहिनीले दाजुभाइलाई सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै पूजा गरी निधारमा सप्तरंगी ठाडो टीका र गलामा मखमलीको माला पहिराई मिठाइ भोजन गराउने चलन छ ।
पाँचदिने तिहार अर्थात् यमपञ्चकको पहिलो दिन शुक्रबारबाटै देशभर घर, चोक, बस्ती र नगर जताततै बत्तीले झिलिमिली पारिएको छ । तेस्रो दिन आइतबार बिहान गाईपूजा र साँझ लक्ष्मीपूजा गरियो । नाचगानसहित भैलो खेलियो ।
चौथो दिन सोमबार गोवर्धनको पूजामा गोबरको पहाड बनाएर पुजिन्छ । बहर र बलिराजाको पनि पूजा गरिन्छ । नेवार समुदायमा म्हः पूजा हुनेछ ।