नेपाल पहिलो पटक ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा

नेपाल पहिलो पटक ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा बुधबार पुगेको छ । युएईमा भइरहेको आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप छनोटमा हङकङविरूद्धको महत्वपूर्ण खेल ५ विकेट जितेर नेपाल त्यसको हकदार भएको हो ।  सन् २०१४ को जुन-अपि्रलपमा हुने ट्वान्टी-ट्वान्टी विश्वकपमा अब नेपालले खेल्ने छ । नेपाली क्रिकेटको सत्र वर्षे अन्तर्राष्ट्रिय इतिहासमा यो सबैभन्दा ठूलो उपलब्धी हो ।
अबुधावीमा नेपालले टस जितेर हङकङलाई पहिले ब्याटिङका लागि निम्त्याएको थियो । अभिनाश कर्ण र जितेन्द्र मुखियाले उत्कृष्ट बलिङ गरेपछि हङकङले ८ विकेटको क्षतिमा १ सय ४३ रन बनायो । अभिनासले २ र जितेन्द्रले ३ विकेट लिए ।
जवाफमा एक सय ४४ रनको लक्ष्य पछ्याएको नेपालले जितका लागि अन्तिम बल सम्म कुर्नु पर्‍यो । नेपाललाई अन्तिम ओभरमा ६ बलमा १३ रनको आवश्यक थियो । पहिलो बलमा छक्का र दोस्रो बलका चौका प्रहार गर्दै शरद भेषावकरले नेपाललाई जित नजिक पुर्‍याए । त्यसपछि प्रदीप ऐरी स्टाइकमा पुगेका थिए । उनले चौथो बलमा रन बटुल्न सकेनन् । पाचौ बलमा उनले एक रन दिए र शरद फेरि स्टाइकमा पुगे । र, अन्तिम बलमा शरदले एक रन लिँदै नेपालको जित सुनिश्चत गरे । नेपालले ५ विकेटको क्षतिमा १ सय ४४ रन बनायो । शरदले ७ बलमा १३ रन जोडे । खेलको उत्कृष्ट खेलाडी भएका नेपालका कप्तान पारस खड्काले ४६ रन बनाए । ज्ञानेन्द्र मल्लले ३० र सागर पुनले २२ रन जोडे । EKANTIPUR