जर्नी टु वल्र्डकप प्रतियोगिताको फाईनलमा नेपालले एयर ईण्डियासँग ५ विकेटले पराजित

काठमाडौ  – जर्नी टु वल्र्डकप प्रतियोगिताको फाईनलमा नेपालले एयर ईण्डियासँग ५ विकेटले पराजित भएको छ । टस हारेर पहिले व्याटिङ गरेको नेपालले पूरा ४५ ओभर खेल्दै एयर ईण्डियालाई २७७ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको लक्ष्य एयर ईण्डियाले ११ बल बाँकी छदै भट्टायो ।
नेपालका लागि सागर पुनले २, कप्तान पारस खड्का, बसन्त रेग्मी र राजकुमार प्रधानले १-१ विकेट लिए ।
नेपालको लागि बिनोद भण्डारीले ७९ र खड्काले ६१ रनको पारी खेलेका थिए । सुरुवाति व्याट्सम्यान अनिल मण्डलले ४५ र सागर पुन ३३ रनमा आउट हुँदा नेपालले पूरा ४५ ओभर खेल्दै ८ विकेटको क्षतिमा २७६ रन तयार पारेको हो ।
नेपालका लागि प्रदीप ऐरीले नटआउट २७, सदर भेषवाकरले ८ रन बनाए । बसन्त रेग्मी र सोमपाल कामी खाता नखोली आउट भए । अन्तिम ओभरमा क्रिज पुगेका राजकुमार प्रधानले रन जोड्न पाएनन् ।
अर्को महिना न्यूजील्याण्डमा हुने एक दिवसीय विश्वकप प्रतियोगिताको छनौटको लागि यो प्रतियोगिता आयोजना गरिएको हो । नेपाल क्रिकेट संघ (क्यान) को प्राविधिक सहयोगमा जोरा ईन्टरनेशनलले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा भारतको दिल्ली वाण्डरस क्लप र सिंगापुरको राष्ट्रिय टोलीसहित चार टिम सहभागी थिए । नेपालले आफ्नो पहिलो खेलमा एयर ईण्डियालाई ५ विकेटले पराजित गरेको थियो ।
फाईनल पुग्नु अघि दिल्ली वाण्डरससँग पराजित नेपालले सिंगापुरलाई २२७ रनले हराएको थियो ।
एयर ईण्डिया वाण्डरस र सिंगापुरलाई हराएर फाईनल आईपुगेको हो ।
यो प्रतियोगितालाई ५० ओभरको खेलमा खेलाडी चिन्ने मौकाको रुपमा लिएको प्रशिक्षक पुबुदु दासानायकेले बताएका छन् । EKANTIPUR