– टोपराज शर्मा
क्षेत्रीयस्तरको आधुनिक गायन प्रतियोगिता ‘भ्वाइस अफ बुटवल’ पश्चिमाञ्चलस्तरीय औद्योगिक व्यापार, कृषि तथा पर्यटन मेलाको प्रमुख आकर्षण भएको छ।
बुटवल-१२ स्थित बुटवल मण्डपमा सञ्चालित पश्चिमाञ्चलस्तरीय औद्योगिक व्यापार, कृषि तथा पर्यटन मेलामा विभिन्न जिल्लाका ८० जनाले पहिलो अडिसनमा भाग लिएको यो प्रतियोगितामा निर्णायकबाट छनोट भएका उत्कृष्ट १० जना बीच उपाधि जित्ने प्रतिस्पर्धा छ।
उत्कृष्ट १० मा छनोट भएका किशोर-किशोरीले मेलाको सांस्कृतिक कार्यक्रममा अरुको भन्दा राम्रो प्रस्तुति दिएर एवं दर्शकको मन जित्ने प्रयास गरिरहेका छन्।
प्रतियोगिता अवधिभर दर्शकले दिएको मतका आधारमा सबैभन्दा कम मत पाउने बाहिरिँदै जाँदा १० औं दिनमा तीनजनाबीच उपाधिका लागि अन्तिम प्रतिस्पर्धा हुनेछ। पुस २० गते हुने फाइनल विजेताले भ्वाइस अफ बुटवलको उपाधिसहित नगद पुरस्कार र तेस्रो हुनेले १० हजार नगद प्राप्त गर्नेछन्।
पुस २१ गतेसम्म चल्ने मेलामा भ्वाइस अफ बुटवलसँगै लिगका आधारमा राष्ट्रिय स्तरको दोहोरी गीत प्रतियोगिता, लोकआधुनिक, पप एवं हास्य विधाका कलाकारको प्रस्तुतिले पनि प्रसस्त मनोरञ्जन प्रदान गरिरहेको छ।