टी२० विश्वकपको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित

काठमाडौ, चैत्र ४ – टी२० विश्वकपको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको छ । पहिलो पटक आधिकारीक प्रतियोगितामा टेस्ट मान्यता प्राप्त टिमसँग भिडेको नेपाली टोलीले अन्तिम समयसम्म जुझारुपन कायम राख्यो ।
लगातार दुर्इ जितले बंगलादेशमो सुपर टेन प्रवेशको संभावना बलियो बनेको छ । तर नेपाल र अफगानिस्तान प्रतियोगिताबाट वाहिरिएका छैनन् । विहीबारको अन्तिम दिनको खेलले उनीहरुको अर्को चरण प्रवेशको संभावना कायमै राखेको छ । हंगकंग भने दुर्इ खेल हार्दै वाहिरिइसकेको छ ।
चटगाउँको जोहर अहमद स्टेडियममा पहिलो व्याटिङ गरेको नेपालले बलियो प्रतिद्वन्द्वीविरुद्ध पूरा ओभर खेलेर ५ विकेटको क्षतिमा एकसय २६ रन बनाएको थियो । नेपालले दिएको लक्ष्य बंगलादेशले २ विकेटको क्षतिमा २७ बल खेल्न बाँकी रहँदै भेट्टायो ।
नेपालको लागि कप्तान पारस खड्का र शरद् भेषवाकरले ८५ रनको शानदार पारी खेले । पारसले ४१ र शरद्ले ४० रनको व्यक्तिगत योगदान गरे । दुवैले ५-५ चौको हिर्काए । ज्ञानेन्द्र मल्ल ६ बल मात्रै खेलेर १३ रनमा आउट भए । ओपनर सागर पुनले १२ रन बनाए ।
बंगलादेशको लागि अनमुल हकले ४२ र तमित हकले ३० रन जोडे । सविर रहमान र साकिब अल हसनले अविजित क्रमशः २१ र ३७ रन बनाए । हसनले चार छक्का हन्दै नेपालविरुद्ध आक्रामक फिनिसिङ गरे ।
खेलपछि प्रतिक्रिया दिदै नेपाली कप्तान पारसले अन्तिम ओभरमा राम्रा सर्ट खेल्न नसक्दा कम रनमा समेटिनु परेको बताए । ‘हामीले एकसय ४० को लक्ष्य दिन सकेको भए पनि खेलले अर्कै मोड लिन सक्थ्यो’, उने भने,’हामी बाउन्ड्रीमा पनि खेल्न सकेनौं ।’
 EKANTIPUR
प्रकाशित मिति: २०७० चैत्र ४