ट्वान्टी-२० विश्वकपमा ऐतिहासिक प्रदर्शन गरेको राष्ट्रिय क्रिकेट टोलीलाई नेपालमा भब्य स्वागत

काठमाडौं- ट्वान्टी-२० विश्वकपमा ऐतिहासिक प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। बिहीबार पहिलो चरणको अन्तिम खेलमा अफगानिस्तानमाथि सानदार विजय हासिल गरेको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भब्य स्वागत गरियो।
विमानस्थलमा खेलकुदमन्त्री परषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव युवराज लामा, क्यान अध्यक्ष टंक आङबुहाङलगायतले नेपाली टोलीको स्वागत गरेका हुन्। क्रिकेट टोलीलाई स्वागत गर्न विमानस्थलमा ठूलो संख्यामा सर्वसाधारण जम्मा भएका छन्। उनीहरुले नेपाली राष्ट्रिय टिमको पक्षमा नारा लगाइरहेका छन्।
पहिलोपटक विश्वकपको अनुभव गर्ने क्रममा नेपालले आइतबार पहिलो खेलमा हङकङमाथि ८० रनको सानदार जित हासिल गरेको थियो। अन्तर्राष्ट्रिय आधिकारिक खेलको डेव्युमै विजयका साथ अघि बढेको नेपालले दोस्रो खेलमा टेस्ट खेल्ने विपक्षी बंगलादेशको डटेर सामना गर्‍यो। १४ वर्षदेखि टेस्ट खेल्दै आएको विश्वकै उत्कृष्ट खेलाडीको समूह बंगलादेशसँग नेपाल ८ विकेटले पराजित भएको थियो। तर, पहिलो विश्वकप यात्रालाई स्मरणीय बनाउने क्रममा नेपालले पछिल्ला वर्षमा सधैँ आफूमाथि हाबी हुँदै आएको अफगानिस्तानमाथि ९ रनको रोमाञ्चक जित हासिल गरेको थियो।
नेपाली टोली प्रशंसकहरुको भिड छिचोल्दै नक्सालस्थित होटल क्राउन प्लाजातर्फ जानेछ।
NAGARIKNEWS