१५ चैत, काठमाडौं । संचारमाध्यमहरुमा प्रकासित समाचार अनुसार काठमाडौंमा सवारी दुर्घटनामा परि गम्भीर घाइते भएकी चर्तिक लोक तथा दोहोरी गायिका मञ्जु महतको निधन भएको छ ।
ग्रान्डीकै सघनकक्षमा उपचार हुँदै गर्दा मन्जुको निधन भएको हो ।
ग्राण्डी अस्पतालले शनिबार अपराहृन चार बजे महतको निधन भएको घोषणा गरेको हो ।
समाचार अनुसार गीत रेकर्डिङका लागि जमलको मालश्री स्टुडियो जाँदै गर्दा महत सवारी दुर्घटनामा परेकी थिइन् ।
उनी सवार स्कुटरलाई दुईवटा माइक्रोबसले ठक्कर दिएका थिए। बा १ ज ९२१३ नम्बरको माइक्रोबस र अल्फावेट खुल्न नसकेको २०७१ नंबरको हाइस ब्राण्डको माइक्रोले उनलाई बिचमा थिचेका थिए।
दुर्घटनाबाट उनको देब्रे खुट्टा, टाउको र छातीमा गम्भीर चोट लागेको थियो। दुर्घटना लगत्तै उनलाई मनमोहन मेमोरियल अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसक्ने भएपछि उनलाई शिक्षण अस्पताल लगिएको थियो। त्यहाँबाट पनि चिकित्सकहरुले ग्राण्डी अस्पतालमा रिफर गरेका थिए ।
महतले पशुपति शर्मासँग मिलेर गाएको स्रोह दुना आठ बोलको गीत अहिले निकै चर्चामा छ ।
अस्पताल स्रोतका अनुसार महतको खुट्टा, टाउको र पेटमा गम्भीर चोट लागेको थियो । माइक्रोको टायरले च्यापिएको उनको देब्रे खुट्टाको घँुडामुनिको भाग ग्राण्डीका चिकित्सकले विहीबार राती नै आकस्मिक सल्यक्रिया गरी फालिदिएका थिए । त्यसबाहेक उनको टाउकोमा रगत जमेको , मृगौला र कलेजोमा समेत गम्भीर चोट लागेका कारण होसमा नफकिइ उनको निधन भएको अस्पतालले जनाएको छ ।
दुई सन्तानकी आमा मञ्जुका पति तथा एक छोरी र एक डेढ वर्षे छोरा छन् ।
कास्की भरतपोखरी गाविसकी मन्जुले किङफिसर दोहोरी गायन प्रतियोगितामा प्रथम भएपछि काठमाण्डुमा जमेकी थिइन् । त्यसपछि उनी काठमाडौं दोहोरी साँझ, धरहरा दोहोरी साँझ र गामबेशी दोहोरी साँझमा आबद्ध रहीन् । पछिल्लो समय विदेश तथा स्वदेशका कन्सर्ट तथा सांस्कृतिक कार्यक्रममा व्यस्त भइरहेकी मन्जुका नभन है कसैलाई भन्न हुँदैन, हिरामोती झैं लगायत एल्बम बजारमा आइसकेका छन् ।