धनकुटामा सम्पन्न भीमनारायण गोल्डकप फुटबलको उपाधि बीआरटीलाई

धनकुटा, चैत्र २५ । धनकुटामा सम्पन्न सहिद भीमनारायण आमन्त्रण अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको दशौं संस्करणको उपाधि फ्यान्स क्लब भुटान (बीआरटी)ले जितेको छ ।
आज भएको फाइनलमा मोरङको युनाइटेड स्पोर्टिङ क्लबलाई २-० ले हराउँदै बीआरटीले उपाधि जितेको हो । बीआरटीलाई जिताउन प्रकाश बुढाथोकी र पिउस अन्रीले एक-एक गोल गरे । खेलको अन्त्यतिर दोहोरो पहेंलो कार्ड खाँदै दिनेश गुरुङ बाहिरिएपछि स्पोर्टिङ १० जनामा सीमित भएको थियो ।
पहिलो पटक सहभागिता जनाएका दुबै टोलीबीचको उपाधि भिडन्त रोचक बन्ने अनुमान गरिए पनि बीआरटीले खेल एकतर्फी खेलेको थियो ।
उपाधिसँगै बीआरटीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ जितेको छ । त्यसैगरी, उपविजेता स्पोर्टिङले  ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
विजेताहरुलाई उपप्रधानमन्त्री प्रकाशमान सिंहले पुरस्कार प्रदान गरेका थिए । – IMAGEKHABAR