भक्तपुरको मध्यपुर थिमीमा जुजुभाइले पाँचौं पटक जिब्रो छेडे, थिमीमा सिन्दूर जात्रा


भक्तपुर, वैशाख २ । भक्तपुरको मध्यपुर थिमीस्थित बोडेमा प्रत्येक वर्ष वैशाख २ गते मनाइने जिब्रो छेड्ने जात्रा आज सम्पन्न भएको छ । जात्रामा यस वर्ष पनि बोडेका ३२ वर्षीय जुजुभाइ वाँसश्रेष्ठले १० ईञ्च लामो फलामको सियोले जिब्रो छेडाएका थिए ।


विगत चार वर्षदेखि जिब्रो छेडाउँदै आएका बाँसश्रेष्ठले यस वर्ष पनि संस्कृतिलाई जीवन्त राख्न भन्दै पाँचौं पटक पनि जिब्रो छेडाएका हुन् । वैशाख २ गते बिहानैदेखि जिब्रो छेड्ने नाइकेले विभिन्न देवगणको पूजागरि जिब्रो छेड्न पाँचो गणेशको प्रांगणमा रहेको पाटीमा मञ्च बनाइ जिब्रो छेडेका थिए । जिब्रो छ्ेड्ने व्यक्तिले नाट्यम्बरको पूजा गरेपछि मात्र बोल्न, खान र अन्य व्यक्तिलाई छुन हुने परम्परा रहेको छ ।


आजै मध्यपुरथिमीमा सिन्दूरजात्रा अर्थात सुथ ः सिया पनि सम्पन्न भएको छ । थिमीमा चैत्र मसान्तदेखि सुरु भएको बिस्केट जात्रा मध्ये आज विशेष रुपमा मनाइने सिन्दुर जात्राको सुरुवातमा बिहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो भने हिजोदेखि विष्णुवीर र दक्षिण बाराहीको खट मन्दिरमा राखिएको थियो ।