वैशाख ५ – भारतको राष्ट्रिय फिल्म अवार्डमा यसपालि नेपालीभाषी चेली उत्कृष्ट अभिनेत्री बनेकी छन् । ती भाग्यमानी हुन् सिक्किमकी गीताञ्जली थापा । उनलाई यो सम्मान दिलाएको हो ‘लायर्स डाइस’ मा गरेको सानदार अभिनयले । गीतु मोहन दास निर्देशित उक्त फिल्ममा गीताञ्जलीले नवाजुद्दीन सिद्धिकी जस्ता अभिनेताको अपोजिटमा खेलेकी छन् ।
नयाँ दिल्लीमा बुधबार घोषित ६१ औं संस्करणको अवार्डमा हिन्दीतर्फ ‘जोली एलएलबी’ उत्कृष्ट फिचर फिल्म दरियो । सौरभ शुक्ला त्यही फिल्ममार्फत सहअभिनेताको अवार्डको हकदार बने ।
‘भाग मिल्खा भाग’ लोकपि्रय विधामा उत्कृष्ट बन्यो । यो फिल्मले कोरियोग्राफीको अवार्ड पनि पायो । ‘गुलाबी ग्याङ’ सामाजिक मुद्दा उठाउने सवालमा उत्कृष्ट रह्यो ।
उत्कृष्ट अभिनेतामा अपेक्षा गरिएका ‘भाग मिल्खा भाग’ का फरहान अख्तरलाई ‘शहीद’ का राजकुमार राव र मलयालम फिल्मका सुरजले निराश पारे । राजकुमार र सुरजलाई संयुक्त रूपमा चुनिएको हो । गीताञ्जली अभिनीत ‘लायर्स डाइस’ ले सिनेम्याटोग्राफी विधामा पनि बाजी मारेको छ ।
गीताञ्जलीले करिअरको सुरुआत मोडलका रूपमा सुरु गरेकी थिइन् । कोलकातामा कलेज पढ्दाताका । उनले सन् २००७ मा ‘मिस
नर्थ इस्ट’ को टाइटल पनि जितिसकेकी छन् । फिल्मी अभिनय चाहिँ २००६ मा सुरु गरेकी हुन् । सिक्किममा स्कुल पढ्दै । उनको डेब्यु फिल्म ‘मिथ’ हो ।
प्रशान्त रसाइली निर्देशित त्यो फिल्मले त्यति चर्चा पाउन नसके पनि अभिनयको कुनै प्रशिक्षण नलिएकी गीताञ्जलीलाई त्यसले आत्मविश्वासी हुन सिकायो । ‘आईडी’ मा त्यो आत्मविश्वास काम लाग्यो । त्यो फिल्मले उनलाई अन्तर्राष्ट्रियस्तरमै चिनाउन मद्दत गर्यो । लस एन्जल्स र म्याडि्रड फिल्म फेस्टिभलमा उनले उत्कृष्ट अभिनेत्रीको अवार्ड थापिन् ।
गीताञ्जली अहिले इमरान हासमी अपोजिट रहेको फिल्मको काममा व्यस्त छिन् । ‘ह्वाइट लाइज’ को निर्देशन ओस्कार अवार्ड विजेता निर्देशक डानिस तानोभिचले गरिरहेका छन् । त्यो फिल्म पाउनुको कारणबारे उनले भनेकी छन्, ‘डानिस जस्ता निर्देशकलाई एकचोटि भेट्न पाइने लोभमा म यो फिल्मको अडिसनमा गएकी थिएँ । भाग्यवश, छानिएँ ।’ ‘मम र थुक्पा खान भनेपछि हुरुक्क हुने’ गीताञ्जलीलाई हाम्रो पनि बधाई ।
EKANTIPUR /AGENCIES
प्रकाशित मिति: २०७१ वैशाख ५



