लामो समयदेखिको प्रेमसम्बन्धपश्चात् अन्ततः नायिका रानी मुखर्जीले आदित्य चोपडासँग बिहे गरिन्


 

वैशाख १० – लामो समयदेखिको प्रेमसम्बन्धपश्चात् अन्ततः नायिका रानी मुखर्जीले पतिका रूपमा आदित्य चोपडालाई नै रोजेकी छन् । यी दुईले इटालीमा बिहे गरेको खुलासा भएको छ । ‘आदित्य चोपडा र रानी मुखर्जीबीच गत राति (सोमबार) बिहे भएको सुनाउन पाउँदा हामीलाई खुसी लागेको छ,’ यशराज फिल्मस्का उपाध्यक्ष रफिक ग्यांगजीले भने, ‘वैवाहिक समारोह नजिकका आफन्त, परिवार र साथीहरूबीचमा अत्यन्तै सानो हिसाबमा सम्पन्न भयो ।’ आदित्य यशराज फिल्मस्का प्रमुख हुन् ।

यसअघि रानीले दीपावली समेत आदित्यकै घरमा मनाएपछि बिहेको पक्कापक्कीको खबर बाहिरिएको थियो । गतवर्ष बितेका यश चोपडाका जेठा छोरा आदित्यको रानीसँग भने दोस्रो बिहे हो । ४२ वर्षीय आदित्यले पायल खन्नासँग पहिलो बिहे गरेका थिए । त्यसो त ३६ वर्ष पुगिसकेकी रानीको पनि पहिले नायक गोविन्दासँग नाम जोडिएको थियो ।

 

सन् २००० मा फिल्म ‘हद कर दी आपने’ मा रानीको बेडरुममा गोविन्दा भेटिएको घटनाले बजार तातेको थियो । त्यसो त रानी अर्का नायक अभिषेक बच्चनसँग पनि अलि बढी नजिक थिइन् । अभिषेककी आमा जयाले त दुईले बिहे गरेको हेर्ने चाहेकी थिइन् । तर आदित्यले स्कुले साथीसमेत रहेकी पायलसँगको वैवाहिक सम्बन्धलाई सन् २००९ मा टुंग्याएपछि रानीसँग नजिकिएका थिए । उक्त कुरा स्वीकार्न झन्डै तीन वर्ष लागेको थियो । अन्ततः सन् २०१२ मा आएर रानीले आफू प्रेममा परेको त स्वीकार गरिन्, तर प्रेमिको नाम भनिनन् । तर मिडियालाई आदित्यसँगको उक्त कुरा ओपन सेक्रेट जस्तै थियो । पछि गत वर्षको अक्टोबरमा दुईको इंगेजमेन्टको हल्ला पनि बाहिरियो । तर जोडीले भने स्पष्टसँग आधिकारिक रूपमा बोलेको थिएन ।

 

EKANTIPUR / AGENCIES

प्रकाशित मिति: २०७१ वैशाख १०