काठमाडौ, वैशाख १६ – जन्म दिने आमाप्रति कृतज्ञता ज्ञापन गरी मीठामीठा परिकार खुवाएर मंगलबार मातृ दिवसका रूपमा आमाको मुख हेर्ने पर्व मनाइँदै छ ।
नौ महिनासम्म गर्भमा राखेर जन्म दिई पालन पोषण गरी हुर्काई समाजमा समर्थ बनाउने आमाप्रति सम्मान प्रकट गर्न वैशाख कृष्णपक्ष औंशीको दिन यो पर्व मनाउने नेपालीहरूको परम्परा छ ।
आमाले पनि यस दिन छोराछोरीलाई दीर्घायू, सुस्वास्थ्य र असल जीवनको कामना गर्दै आशिष दिन्छन् । आमा जीवित नभएका छोराछोरीहरूले राजधानीदेखि दक्षिणतर्फ थानकोट नजिकको मातातीर्थमा श्राद्ध र पिण्ड तर्पण गर्ने भएकाले यस पर्वलाई ‘मातातीर्थ औंशी’ पनि भन्न्ने गरिन्छ । यस दिन त्यहाँ चढाएको र दान गरेको रोटी, फलफूल आदि दिवंगत आमाको मुखमा पर्दछ भन्ने जनविश्वास छ । मातातीर्थसम्म जान नसक्नेले दिवंगत आमाको नाममा वज्राचार्य वा ब्राह्मण पुरोहितलाई सिदा, निःसलाः र जलदान दिने गर्दछन् ।
RSS / EKANTIPUR