मलेसियामा जारी एसीसी प्रिमियर लिगमा नेपालले युएईलाई ४ विकेटले हराएको छ।
युएईले जितका लागि दिएको १ सय ९२ रनको लक्ष्य नेपालले ३९.५ ओभरमा ६ विकेट गुमाउँदै भेट्टाएको हो।
प्रतियोगितामा विजयी सुरुआत गरेको नेपालका लागि ओपनर सुवास खकुरेलले सर्वाधिक ७१ रनको योगदान दिएका थिए। ६५ बलमा हाफ सेन्चुरी पुरा गरेका उनले सर्वाधिक ११ वटा चौका प्रहार गरेका छन्।
यस्तै हाफ सेन्चुरीबाट मात्र ३ रन टाढा रहेका उपकप्तान ज्ञानेन्द्र मल्लले ४७ रन बनाए। ३७ बल खेलेका मल्लले ७ चौका र १ छक्का प्रहार गरेका थिए। उनी फयाज अहमदको बलमा एलबीडब्लुको धरापमा परे।
यस्तै कप्तान पारस खड्का ३० रनको व्यक्तिगत स्कोरमा सलमान फरेस्टको बलमा बोल्ड भए। ४० बल खेलेका पारसले ३ चौका प्रहार गरेका थिए।
२७ बल खेलेका सरद भेसवाकरले २ चौका प्रहार गर्दै १६ रन बनाए। यस्तै विनोद भण्डारीले १३ बलमा ९ रन बनाउँदा बसन्त रेग्मी १० बलमा ८ रन बनाएर अभिजित रहे।
यस्तै मेशबुब आलम ५ रनको व्यक्तिगत स्कोरमा आउट भए। उनले १६ बलको सामना गरेका थिए। यता ५ बलको सामना गरेका ओपनर नरेश बुढाएर २ रनको व्यक्तिगत योगदान दिएर आउट भएका थिए।
युएईका लागि फयाज अहमदले २ तथा कृष्णचन्द्र, सलमान फारिस,मोहम्मद नाभिदले समान १-१ विकेट लिए।
यसअघि क्वालालाम्पुरस्थित सेल्गोर टर्फ क्लवमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारीत ५० ओभरको खेलमा ४८.१ ओभरमा सबै विकेट गुमाउदै १ सय ९१ रन बनाएको थियो।
उसका लागि स्वप्निल पाटिलले सर्वाधिक ७६ रन बनाएका थिए । ९५ बल खेलेका पाटीलले ४ चौका र दुई छक्का प्रहार गरेका थिए। यस्तै कृष्णचन्द्र कराँतेले ३६ रन बनाएका थिए। मोहम्मद साहजादले २५ रन बनाउँदा सलमान फारिसले १६ तथा साइमन अनवारले १४ रन बनाएका थिए।
युएईलाई मध्यम स्कोरमा रोक्ने क्रममा नेपालका लागि मेहबुब आलम र सोमपाल कामीले तीन तीन विकेट लिएका थिए। शक्ति गौचनले दुई र सागर पुनले एक विकेट लिए।
सन् २०१२ पछि पहिलो पटक नेपाली राष्ट्रिय टोलीमा परेका आलमले किफायती बलिङ गर्दै ८ ओभरमा २१ रन खर्चिएर युएईका तीन भरपर्दा ब्याट्सम्यानलाई पबेलियन पठाए। यस्तै युवा बलर सोमपालले ९.१ ओभर बलिङ गर्दै १ मेडनसहित समान तीन विकेट लिएका थिए।
१० ओभर बलिङ पुरा गरेका शक्ति गौचनले ३१ रन खर्चेर २ विकेट लिए। यस्तै ६ ओभर बलिङ गरेका सागर पुनले १ विकेट लिएका थिए भने युएईका एक ब्याट्सम्यान रन आउट भएका थिए।
अहिलेसम्म भएका ९ खेलमा नेपालले जम्मा एक पटक मात्र जितेको छ भने यूएइले ७ पटक नेपाललाइ हराएको छ। बाँकी १ खेल भने टाई भएको थियो। यूएईले पछिल्लोपटक नेपाललाई आइसीसी क्रिकेट वर्ल्डकप छनोटमा हराएको थियो।
एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले एसियाका टेस्ट मान्यता नपाएका शीर्ष वरीयतामा रहेका टिमबीच पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा नेपालसहित छ टिमको सहभागिता रहनेछ । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा नेपाल र आयोजक मलेसियासहित अफगानिस्तान, हङकङ, ओमान र यूएई सहभागी हुनेछन् ।
एसियाली क्रिकेट परिषद (एसीसी)ले यसअघि खेलाउने गरेको एसीसी ट्रफीलाई परिमार्जन गरेर एसीसी प्रिमियर लिगको ढाँचामा लगेको हो ।
६ टोली सम्मिलित प्रिमियर लिगमा शीर्ष चार स्थानमा रहने टोलीले दुई दिवसीय क्रिकेट खेल्न पाउनेछन् । नेपालले आफ्नो दोस्रो खेलमा भोलि (शुक्रबार) आयोजक मलेसियासँग खेल्नेछ ।
यसैगरी, तेस्रो खेलमा आईतबार ओमानसँग खेल्नेछ भने चौथो खेल सोमबार हङकङसँग र पाँचौ खेल बुधवार अफ्गानिस्तानसँग खेल्नेछ ।
SETOPATI