मलेसियामा जारी एसिसी प्रिमियर लिग क्रिकेटमा नेपाल ओमनसँग पराजित

वैशाख २१ – मलेसियामा जारी एसिसी प्रिमियर लिग क्रिकेटमा नेपाल ओमनसँग पराजित भएको छ। 
क्वालालम्पुरमा आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपाल ओमनसँग २ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ५८ रनको चुनौती ओमनले ४७  दशमलव ५ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो।
यस अघि पहिले टर हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारीत ५० ओभरको खेलमा ४५ ओभर खेल्दै १ सय ५७ रन बनाएको थियो। 
नेपालका लागि ज्ञानेन्द्र मल्लले २६ ,नरेश बुढाऐरले २३ र सागर पुनले २० रन बाहेक अन्यले राम्रो खेल प्रर्दशन गर्न सकेनन्।
कप्तान पारस खड्का ६ रन बनाएर आउट भएका थिए। खड्का,सोमपाल कामी र शक्ति गौचनले  समान दुई दुई विकेट लिएका थिए भने सागर पुन, बसन्त रेग्मीले एक एक विकेट लिए। ओमनका लागि भने अमीर कलिमले ४ विकेट लिए।
युएई र मलेसियासामु उत्कृष्ट प्रर्दशन गरेका नेपाली ब्याट्सम्यानहरु ओमनका बलरसामु लरखराएका थिए।  
नेपालले अव अघिल्लो चरण प्रवेशका लागि दुई खेल कुर्नु पर्नेछ। नेपालले अव सोमबार हङकङ र बुधबार अफगानिस्तानसँग खेल्नेछ। लगातार तेस्रो जितसँगै ओमन भने एसिसी च्याम्पियनसिपका लागि छनौट भएको छ। 
– (सेतोपाटी)