क्वालालम्पुर, वैशाख २२ – मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेटमा सोमबार भएको खेलमा हङकङविरुद्ध नेपाल ७ विकेटले विजयी भएको छ । आजको जितसँगै नेपालले डिसेम्बरमा हुने दुई दिवसीय एसीसी च्याम्पियनसिपमा स्थान पक्का गरेको छ । नेपालले भोलि अफगानीस्तानसँग खेल्नेछ । ६ टोली सहभागी प्रतियोगिताको शिर्ष ४ टोलीले च्याम्पियनसिप खेल्न पाउनेछन् ।
हङकङले दिएको १८२ रनको लक्ष्य नेपालले ३४ दशमलव १ ओभरमै पूरा गर्यो । बायोमास मैदानमा टस जितेको नेपालले फिल्ड रोजेर हङकङलाई सस्तैमा समेट्यो ।
२७ दशमलव ४ ओभर खेल्दै गर्दा पानी परेपछि झण्डै डेढघण्टा खेल अवरुद्ध भएको थियो । त्यसपछि डर्कवर्क लेविस नियम अनुसार खेलमा १२ ओभर छोट्याइएको थियो । छोट्याइएपछि नेपालका लागि विजय लक्ष्य १४४ रन निर्धारण गरिएको थियो ।
सुरुवाति खेलमा जम्न नसकेको ओपनर नरेश बुढाएरले आजको खेलमा ८६ बल खेलेर ४१ रन बनाए । उनले ६ चौकाको मद्दतले रन बटुलेका हुन् । कप्तान पारस खड्काको खातामा अविजित ४३ रन रह्यो । पारसले ५२ बल खेलेर ६ चौकासहित टोलीका लागि सर्वाधिक रन योगदान गरेका हुन् । उनीसँगै साझेदारी गरेका शरद भेषवाकरले अविजित १९ रन बनाए ।
टोलीका लागि सुबास खकुरेलले १६, ज्ञानेन्द्र मल्लले १५ रनको योगदान गरे ।
ब्याटिङको निम्तो पाएको हङकङले ४१ दशमलव ५ ओभर खेल्दै सबै विकेटको क्षतिमा १ सय ८१ रनको योगफल तय गरेको थियो । हङकङका लागि इरफान अहमदले १ सय १५ बलमा ३ छक्का र १० चौकासहित सर्वाधिक १ सय ६ रनको योगदान दिए भने निजाकत खानले २ छक्कासहित १७, वाकसतले १६, लाम्साङले १८ र कप्तान एटिक्सनले ११ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले ३४ रन खर्चिएर सर्वाधिक ४, बसन्त रेग्मीले ३ र अरिफ शैखले २ विकेट लिएर जितका लागि पाएको अवसरको सदुपयोग गरे ।
यसैबीच सोमबारै किनरारा ओभलमा भएको खेलमा युएईले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । यससँगै घरेलु टीम मलेसिया उपाधिको अवसरबाट बाहिरीएको छ । साथै सेलाङगर टर्फ क्लबको मैदानमा भएको खेलमा ओमानविरुद्ध अफगानिस्तान ५ विकेटले विजयी भएको छ ।
EKANTIPUR
प्रकाशित मिति: २०७१ वैशाख २२