चरिकोट, २६ बैशाख । दोलखा सदरमुकाम चरिकोटमा शुरु माउण्ट गौरीशंकर तेश्रो अन्तर्राष्ट्रिय चेस प्रतियोगिता शुरु भएको छ । स्थानीय गौरीशंकर बहुमुखी क्याम्पसमा शुरु प्रतियोगिता अन्तरगत शुक्रवार पहिलो तथा दोश्रो चरणका खेल सम्पन्न भए ।
दोश्रो चरणको समाप्तिमा नेपालका क्यान्डिडेटमास्टर कृष्ण थापा २ अंकका साथ अग्र स्थानमा रहन सफल भएका छन् । कृष्णले पहिलो चरणमा भारतका राहुल देवदास तथा दोश्रोमा नेपालका चुडामनी कुलुङ राईलाई पराजीत गरे । त्यस्तै पूर्व नेपाल च्याम्पीयन वद्रिलाल नेपालीले पहिलो तथा दोश्रो चरणमा क्रमशः भारतका सुरज अग्रवाल तथा नेपालका सुरज पण्डितमाथि जीत हात पारे । भारतीय खेलाडी सौरभ आनन्दलाई दोश्रो चरणमा पराजीत गर्दै नेपालका हिमाल राईले २ अङ्क जोडेका छन् । त्यस्तै दोश्रो सहकारी कपका विजेता श्यासुन्दर श्रेष्ठ माथि जित हात पार्दै नेपाल टेलिकमका गोविन्द खड्काले पनि आफ्नो खातामा २ अंक जोडे । नेपालका मदकृष्ण कायस्थ, हिमाल लामा, गणेशमान दुवाल, राजेन्द्र वज्राचार्य, रिजेन्द्रराज भण्डारी, जनार्दन श्रेष्ठ तथा भारतका कुमार गौरव र दिलिप दास पनि समान २ अङ्कका साथ सयुक्त अग्रस्थानमा रहन सफल भएका छन् ।
प्रतियोगितामा शिर्ष वरियता प्राप्त भारतीय फिडेमास्टर जोयदिप दत्त नेपालका धरम बहादुर लामासँग बराबरीमा रोकिन पुगेपछि १ दशमलब ५ अंकका साथ दोश्रो स्थानमा रहे । त्यस्तै पहिलो चरणको खेलमा नेपालका विकेश जयसवाललाई पराजीत गर्न सफल बंगलादेशका साफिक अहमद दोश्रो चरणमा प्रतियोगिताका पहिलो संस्करणका विजेता राजेन्द्रप्रसाद श्रेष्ठसँग वरावरीमा रोकिए । त्यस्तै दोश्रो चरणमा भारतका रिताव्रोतो गांगुलीसँग वरावरीमा रोकिएका नेपालका भुपेन्द्र निरौला, धरमबहादुर लामा, राजन पुरी, रविन्द्र वहादुर थापा, राजेन्द्रप्रसाद तथा रिताब्रोतो समान १ दशमलव ५ अङ्कका साथ सयुक्त दोश्रो स्थानमा रहेका छन् ।
त्रिभुवन आर्मी क्लबका अनुप पोखरेलसँग पहिलो चरणको खेल गुमाउन पुगेका फ्रान्सका स्टेफन लुहुले दोश्रो चरणमा नेपालका कर्णसिहं थामि माथि जित हात पार्दै १ अङ्क वटुले ।
नेपाल चेस क्लब दोलखा तथा दोलखा जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा जारी प्रतियोगितामा नेपाल सहित भारत, बंगलादेश, जापान, अमेरिका र फ्रान्सका ७० खेलाडीको सहभागीता रहेको छ । प्रतियोगिता स्विस लिग प्रणाली अनुसार ९ चरणसम्म सञ्चालन हुनेछ । कुल ३ लाख ३ हजार नगद पुरस्कार रहेको प्रतियोगिताका विजेताले ५० हजार हात पार्नेछन् ।
प्रतियोगिता अन्र्तगत शनिवार तेश्रो तथा चौथो चरणका खेल हुनेछन् ।