चरिकोटमा माउण्ट गौरीशंकर तेश्रो अन्तर्राष्ट्रिय चेस प्रतियोगिता, हिमाल र कुमारको अग्रता

चरिकोट, २७ बैशाख । नेपालका हिमाल लामा तथा भारतका कुमार गौरव दोलखा सदरमुकाम चरिकोटमा जारी माउण्ट गौरीशंकर तेश्रो अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा संयुक्त अग्रता कायम गर्न सफल भएका छन् । स्थानीय गौरीशंकर बहुमुखी क्याम्पसमा शनिवार सम्पन्न चौथो चरणको खेलमा नेपालका रिजेन्द्र राजभण्डारीमाथि कठिन जीत हात पार्दै कुमारले अग्रता लिएका हुन् । शतप्रतिशत नतिजा निकाल्ने क्रममा उनले तेश्रो चरणमा नेपालका हिमाल राईलाई हराए । उनको ४ खेलबाट ४ अंक भएको छ । समान ४ अंक भएका नेपालका हिमाल लामाले तेश्रो चरणमा नेपालका जनार्दन श्रेष्ठ तथा चौथोमा बंगलादेशका सफिक अहमदमाथि सानदार जीत हात पारे ।
नेपालका क्यान्डिडेटमास्टर कृष्ण थापालाई हराउँदै प्रतियोगिताका शिर्ष खेलाडी भारतीय फिडेमास्टर जोयदिप दत्त ३ दशमलब ५ अंकका साथ प्रतियोगिताको दोश्रो स्थानमा उक्लिन सफल भए । शनिबार भएका दुबै खेलमा विजय हात पार्ने क्रममा दत्तले तेश्रो चरणमा नेपालका राजन पुरीलाई हराए । नेपालका बद्रीलाल नेपाली तथा मदनकृष्ण कायस्थबीच भएको चौथो चरणको खेल बराबरीमा टुंगीएपछि अंकतालिकामा जोयदिप दत्तसँगै संयुक्त दोश्रो स्थानमा रहे ।  
भारतका सौरभ आनन्द, नेपालका भुपेन्द्र निरौला, हिमाल राई, जनार्दन श्रेष्ठ, रिजेन्द्र राजभण्डारी, धरमबहादुर लामा, राजेन्द्र बज्राचार्य समान ३ अंकमा रहन सफल भएका छन् । त्यसैगरी नेपालका मणिराज डाँगी, श्यामसुन्दर श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ र चुडामणी भट्टराईको पनि ३ अंक रहेको छ । 
बंगलादेशका सफिक अहमद, फ्रान्सका स्टेफन लुहु, नेपालका बलराम संजेल, कृष्ण थापा, राजन पुरी, तथा रविन्द्र बहादुर थापा २ दशमलब ५ अंकमा रहेका छन् । प्रतियोगिता अन्र्तगत आईतबार पाचौं तथा छैटौं चरणका खेल हुनेछन् । 
उमेश के.सी., प्रतियोगिता संयोजक तथा अन्तर्राष्ट्रिय आर्विटर ।