चरिकोट, २९ बैशाख । भारतका कुमार गौरव आठौं चरणको खेलमा नेपालका पूर्व राष्ट्रिय विजेता बद्रीलाल नेपालीसँग पराजीत भएपछि माउण्ट गौरीशंकर तेश्रो अन्तर्राष्ट्रिय चेस प्रतियोगिताको उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ । स्थानीय गौरीशंकर बहुमुखी क्याम्पसमा सोमबार सातौं तथा आठौं चरणमा खेल सम्पन्न भए । आठौं चरणको समाप्तिमा नेपालका मदनकृष्ण कायस्थ ७ अंकका साथ अग्रस्थानमा रहेका छन् । मदनले एकल अग्रता लिने क्रममा सातौं चरणमा भुपेन्द्र निरौला तथा आठौंमा प्रतियोगिताका पहिलो संस्करण विजेता राजेन्द्रप्रसाद श्रेष्ठलाई पराजीत गरे । उपाधिका लागि मदनले मंगलबार हुने अन्तिम चरणको खेलमा प्रतियोगिताका शिर्ष खेलाडी भारतीय फिडेमास्टर जोयदिप दत्तसँग पहिलो बोर्डमा प्रतिष्पर्धा गर्नेछन् । दत्तसँगको खेलमा कमसेकम बराबरी नतीजा निकालेमा मदनको उपाधि पक्का हुनेछ ।
सातौं चरणमा राजेन्द्रप्रसाद श्रेष्ठसँग बराबरीमा रोकिएका बद्रीलाल नेपाली ६ दशमलब ५ अंकका साथ दोश्रो स्थानमा रहेका छन् । अन्तिम चरणमा बद्रीलालले बंगलादेशका सफिक अहमदसँग दोश्रो बोर्डमा प्रतिष्पर्धा गर्नेछन् । बद्रीलाललाई उपाधिका लागि अनिवार्य जीत आवश्यक छ भने मदनकृष्ण र फिडेमास्टर जोयदिप दत्तबीचको नतीजामा पनि भर पर्नुपर्नेछ । उता सातौं चरणसम्म एकल अग्रता बनाउन सफल भारतका कुमार गौरव तथा फिडेमास्टर दत्तलाई पनि उपाधिका अन्तिम चरणमा अनिवार्य जित आवश्यक छ । कुमार गौरव र जोयदिप दत्तको समान ६ अंक रहेको छ । यसअघि सातौं चरणमा कुमार र जोयदिप दत्तबीचको खेल बराबरीमा टुंगिएको थियो ।
बंगलादेशका सफिक अहमद, भारतका कुमार गौरव तथा नेपालका राजेन्द्रप्रसाद श्रेष्ठ, भुपेन्द्र निरौला, राजन पुरी, हिमाल लामा र रिजेन्द्र राजभण्डारीको समान ५ दशमलब ५ अंक रहेको छ । त्यस्तै भारतका आशुतोष कुमार, दिलिप दास, नन्दन कुमार तथा नेपालका कृष्ण थापा, धरम बहादुर लामा, श्यामसुन्दर श्रेष्ठ, राजेन्द्र बज्राचार्य, मणिराज डाँगी, गणेशमान दुवाल र जर्नादन श्रेष्ठ समान ५ अंकमा रहेका छन् ।
प्रतियोगिता अन्र्तगत मंगलबार अन्तिम चरणका खेल हुनेछन् ।
-उमेश के.सी., प्रतियोगिता संयोजक तथा अन्तर्राष्ट्रिय आर्विटर ।