चरिकोट माउण्ट गौरीशंकर तेश्रो अन्तर्राष्ट्रिय चेस प्रतियोगिताको उपाधि मदनकृष्ण कायस्थलाई

चरिकोट, ३० बैशाख । नेपालका मदनकृष्ण कायस्थले माउण्ट गौरीशंकर तेश्रो अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि हात पारेका छन् । स्थानीय गौरीशंकर बहुमुखी क्याम्पसमा मंगलबार सम्पन्न प्रतियोगिताको अन्तिम चरणको खेलमा भारतीय फिडेमास्टर जोयद्धिप दत्तलाई बराबरीमा रोक्दै मदनकृष्णले उपाधिका साथ ५० नगद हात पारे । मदनले ९ चरणमध्ये ६ खेलमा जीत तथा ३ खेलमा बराबरी गर्दै ७ दशमलब ५ अंकका साथ प्रतियोगिता टुंग्याए । 
नेपालका पूर्व राष्ट्रिय विजेता बद्रीलाल नेपाली बंगलादेशका सफिक अहमदलाई बराबरीमा रोक्दै ७ अंकका साथ दोश्रो स्थानमा रहन सफल भए । उनले ३० हजार नगद पुरस्कार समेत प्राप्त गरे । भारतका कुमार गौरव प्रोगेसिभ प्वाईन्ट टाईब्रेकिङ सिस्टममा तीन खेलाडीलाई पछि पार्दै तेश्रो स्थान हासिल गर्न सफल भए । समान ६ दशमलब ५ अंक बनाएका भारतीय फिडेमास्टर जोयदिप दत्त, नेपालका हिमाल लामा तथा रिजेन्द्र राजभण्डारी क्रमशः चौथो, पाँचौं तथा छैटौं स्थानमा रहे । 
प्रतियोगिताको पहिलो संस्करणका विजेता राजेन्द्रसाद श्रेष्ठ सातौं, भुपेन्द्र निरौला आठौं, राजन पुरी नवौं तथा बंगलादेशका सफिक अहमद दशौं स्थानमा रहन सफल भए । भारतकी सोहिनी गांगुली प्रतियोगितामा उत्कृष्ट महिला बन्न सफल भईन । त्यस्तै भारतकै नन्दन कुमार उत्कृष्ट अनरेटेड खेलाडी बने । उत्कृष्ट स्थानीय खेलाडीको पुरस्कार दोलखाका बिक्रमध्वज श्रेष्ठले हात पारे । 
त्यसैगरी नेपालका राजेन्द्र बज्राचार्य, भारतका सौरभ आनन्द, क्यान्डिडेटमास्टर कृष्ण थापा, श्यामसुन्दर श्रेष्ठ तथा धरमबहादुर लामा क्रमशः एघारौंदेखि पन्ध्रौं स्थानमा रहन सफल भए । त्यस्तै नेपालका सुरज पण्डित, भारतका आशुतोष कुमार, नेपालका मनिराज डाँगी, जनार्दन श्रेष्ठ तथा भारतका दिलिप दास सोह्रौंदेखि बिसौं स्थानमा रहन सफल भए । 
फ्रान्सका स्टेफन लुहु १९०० देखि २१०० रेटिङ समुहमा उत्कृष्ट भए । त्यस्तै नेपालका हिमाल राई तथा गोविन्द श्रेष्ठ क्रमशः १७०० देखि १८९९ र १५०० देखि १६९९ रेटिङ समुहमा उत्कृष्ट रहे । नेपालका प्रभात लामा, श्रेयक थापा, मुस्कान आचार्य तथा भारतका गरिमा गौरव विभिन्न उमेर समुहमा उत्कृष्ट ठहरिए । 
बैशाख २५ गतेबाट शुरु भएको प्रतियोगिता फिडेको स्विस लिग अनुसार ९ चरणसम्म सञ्चालन भएको थियो । प्रतियोगिता नेपाल चेस क्लब दोलखाको आयोजनामा सञ्चालन भएको हो ।