जेठ १५ गते, कपन । पायोनीयर इन्टरनेशनल पब्लिक स्कुल, कपनको आयोजनामा तेश्रो अन्तर स्कुल तथा दोश्रो कपन खुल्ला चेस टुर्नामेन्ट बिहिबारदेखि शुरु भयो । बिहिबार सम्पन्न पहिलो चरणको खेलमा छात्रतर्फ पायोनीयरका सम्पूर्णराज न्यौपाने र विराज पुडासैनी, अन्नपूर्ण उमाबिका बिकेश जैसबाल, जेनिश थापा, मिलन लामा, माउन्ट कैलाशका अलेक्जेण्डर लामा, त्रिज्योतिका भिमसेन बाँनिया, पुष्पलालका सुवास खड्का लगायतले विजयी शुरुवात गरेका छन् । त्यस्तै छात्रातर्फ पायोनीयरकी अनिषा न्यौपाने, आभा पुडासैनी र संगीता कार्की, अन्नपूर्ण उमाबिकी खुश्बु जैसवाल, ग्रीनल्याण्ड स्कुलकी निरुजा घिमिरे, अनुषा पाण्डे, सुजना लोहनी, कान्तिपुर स्कुलकी छाम्दी शेर्पालगायतले समान एक अंक हासिल गरेकी छिन् ।
त्यस्तै खुल्लातर्फ प्रजिम लामा, आर्शिवाद पुडासैनी, सुरज चालिसे र सुदिप तामाङले बिहिबार सम्पन्न दुबै चरणका खेल जितेर २ अंकका साथ संयुक्तरुपमा अग्रस्थानमा रहेका छन् ।
यसअघि आयोजक स्कुलका प्रिन्सिपल शंकरराज न्यौपानेको सभापतित्वमा सम्पन्न एक कार्यक्रमबीच प्रमुख अतिथि कपन गाविस सचिव भुवनेश्वर लामिछाने र खेल विज्ञ केशव राज गौतमले चेस गोटी चालेर संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।
तीन दिने टुर्नामेन्टमा खुल्लातर्फ २० जनासहित २४ स्कुलहरुका ६३ छात्र र २३ छात्राहरु गरी १०६ जना खेलाडीहरु सहभागि छन् ।