क्रिकेट खेलाडी पारस खड्का र जुडोकी सुनिता बोहोरा यस वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडी

काठमाडौं, जेष्ठ १९ । क्रिकेट खेलाडी पारस खड्का र जुडोकी सुनिता बोहोरा यस वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडी चुनिएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आज एक विशेष समारोह आयोजनागरि क्रिकेटर पारस खड्कालाई वर्षको उत्कृष्ट खेलाडी पुरुष तथा जुडोकी सुनिता बोहोरालाई वर्षको उत्कृष्ट खेलाडी महिलाबाट सम्मान गरेको हो ।
यसैगरी, भलीबलकी सरस्वती चौधरी वर्षको चर्चित खेलाडी चुनिएकी छन् । उनले ६९ प्रतिशत भन्दा बढी भोट प्राप्त गर्दै अन्य चार प्रतिस्पर्धीलाई पछि पारिन् । उत्कृष्ट खेलाडी पुरुष, महिला तथा चर्चित विधाका विजेता तीनै जनाले सम्मान बापत पल्सर मोटरसाइकल पाएका छन् ।
यस पटक उत्कृष्ट युवा वर्ष खेलाडीको उपाधि फुटबलका विमल घर्तिमगरले जितेका छन् । साफ च्याम्पियनसिप र विभिन्न उमेर समूहमा गरेको प्रदर्शनको आधारमा विमलले अन्य चार प्रतिस्पर्धीलाई उछिन्दै अवार्ड जितेका हुन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको अवार्डको १२औं संस्करणमा उत्कृष्ट प्रशिक्षकको अवार्ड भने क्रिकेटका पुबुदु दासानायकेले प्राप्त गरेका छन् ।
यो वर्ष लाइफ टाइम एचिभमेन्ट अवार्ड वरिष्ठ धावक बैकुण्ठ मानन्धरलाई, स्पेसल अवार्ड क्रिकेट खेलाडी शरद भेष्वाकारलाई र पाराएथ्लिट अफ द इयरबाट पारा तेक्वान्दो खेलाडी यादव कुँवरलाई सम्मानित गरिएको छ ।
वर्षभरि खेलाडीले गरेको प्रदर्शन, सहभागी प्रतियोगीताको स्तर, प्रदर्शनबाट प्राप्त उपलब्धि र उपलब्धिले पारेको प्रभावलाई मध्यनजर गर्दै अवार्ड विजेताको टुंगो लगाइएको आयोजकको दाबी छ । IMAGEKHABAR