जेष्ठ २८ । विश्व फुटबल महासंघ (फिफा)का अध्यक्ष सेप ब्लाटरलाई अर्को वर्षबाट पद छाड्न दबाब बढेको छ । ब्लाटरको कार्यकाल अर्को वर्ष सकिंदैछ ।
फिफामा लगातार चार कार्यकाल अध्यक्ष रहेका ब्लाटरले सन् २०१५ पछि पनि अध्यक्षमा दावेदारी दिनसक्ने अड्कल चलेका बेला युरोपेली फुटबल अधिकारीहरुले उनीमाथि पद छाड्न दबाब बढाएका हुन् ।
नेदरल्याण्ड्सको फुटबल संघका अध्यक्ष माइकल भान प्रागले ब्लाटरको पछिल्लो कार्यकाल भ्रष्टाचार र आर्थिक अनियमितताका दर्जनौं काण्डबाट आलोचित भएकाले उनले पद छाड्नुपर्ने दबाब दिएका हुन् ।
यसैगरी, इंग्लिस फुटबल संघका अध्यक्ष ग्रेग डायकले पनि ब्लाटरले पद त्याग्नुपर्ने तर्क गरेका छन् ।
कतारलाई सन् २०२२ को विश्वकप आयोजना गर्न दिने निर्णयमा आर्थिक चलखेल भएको आरोप बेलायती र अरु युरोपेली फुटबल संघहरुले लगाउँदै आएका छन् । (एजेन्सी)