चारपटकको विश्वकप विजेता इटालीलाई हराउँदै कोस्टारिका विश्वकप २०१४ को ‘ग्रुफ अफ डेथ’ मानिएको समूह ‘डी’ बाट दोस्रो चरण पुग्ने पहिलो टिम भएको छ।
शुक्रबार राती पौने १० बजे एरिना पेरिनामबुकोमा रंगशालामा भएको खेलमा बलियो प्रतिद्वन्द्धी इटालीलाई १-० ले पराजित गर्दै खेलमा कोष्टारिकाले चामत्कारिक प्रदर्शन गर्यो।
लगातार दोस्रो जित निकालेर अन्तिम १६मा पुगेको हो।
कोष्टारिका दोस्रो चरणमा पुगेसँगै यस समूहबाट इङ्ल्यान्डको विश्वकप चुनौती समाप्त भएको छ र अन्तिम खेल अगाडि नै घर फर्कन बाध्य भएको हो।
समूहमा कोस्टारिका ६ अंकसहित शीर्ष स्थानमा रह्यो। त्यसयता इटाली र उरुग्वे तीन तीन अंकमा छन् । इङ्ल्यान्ड लगातार दोस्रो हारसँगै शून्य अंकमा छ । इङ्ल्यान्ड यसअघि उरुग्वेसँग पराजित रहेको थियो ।
अब कोस्टारिकाले आफ्नो अन्तिम खेलमा इङ्ल्यान्डको सामना गर्नेछ र उसको उद्देश्य समूह विजेता बन्ने हुनेछ ।
समूहबाट नकआउट चरण पुग्ने टिमको निर्णय इटाली र उरुग्वेबीचको खेलबाट हुनेछ।
इटालीलाई जित अथवा बराबरी अर्को चरण पुग्न पर्याप्त हुनेछ । उरुग्वेलाई भने निश्चित जितको आवश्यकता पर्नेछ।
यसअघि नै अर्को विश्वकप विजेता स्पेन पनि यसपल्टको विश्वकपबाट बाहिरिसकेको छ ।
कोस्टारिकाका लागि निर्णायक गोल कप्तान ब्रायन रुइजले जुनियर डेजको उत्कृष्ट क्रसमा हेडबाट गोल गरेका थिए।
SETOPATI, AGENCIES
प्रकाशित मिति: शुक्रबार, आषाढ ६, २०७१