बर्दियामा अन्तरजातिय विबाह गर्ने ६४ जोडिलाई सम्मान

बर्दियामा अन्तरजातिय विबाह गर्ने ६४ जोडिलाई सम्मान गरिएको छ । जातिय भेदभाव र छुवाछुत अन्त्यका लागि दलित हकहित संरक्षण समिति धधवार र मुक्त कमैया, सुकुम्बासी तथा संगम समाज बर्दियाले अन्तरजातिय विबाह गर्ने ६४ जोडिलाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो । सम्मानित हुनेमा ६० बर्ष नाघेका बृद्धबृद्धा समेत रहेका छन् ।
सम्मानित हुुनेहरुमा धधवार ६, बनगाईका ९० बर्षिय बीरबहादुर दमाई र ५० बर्षिय रत्नकला राना मगर, धधवार ६, लम्कीफाँटाका जीतबहादुर दमाई र पुनी गिरी रहेका छन् । यसैगरी धधवार २, बकलभारका नबिन भण्डारी र हरिकला सार्की, धधवार ६, ढकेलाका हस्तबहादुर परियार र तिलसरा वली लगाएत ६४ जोडि रहेका छन् ।
सम्मान कार्यक्रममा बर्दियाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले यस प्रकारको सम्मान कार्यक्रम जातिय छुवाछुत र भेदभाव विरुद्धको अभियाननै भएको बताए । सरकारले अन्तरजातिय बिबाह गरेका जोडीलाई प्रोत्साहन स्वरुप १ लाख रुपैयाँ दिने कानुनी ब्यवस्था रहेको पनि बर्दियाका अधिकांश जोडिहरुले उक्त प्रोत्साहन रकम पाउन नसकिरहेको उनीहरुको गुनासो छ । धधवार गाविसमा रहेका ६४ जोडिमध्ये १ जोडिले मात्र अहिलेसम्म प्रोत्साहन रकम पाएका छन् ।
 
SETOPATI
प्रकाशित मिति: शुक्रबार, आषाढ १३, २०७१