नेपाललाई अन्तर्राष्ट्रिय ट्वेन्टी ट्वेन्टी क्रिकेट खेल्ने राष्ट्रको मान्यता

काठमाडौं, आषाढ १४ । नेपालले अन्तर्राष्ट्रिय ट्वेन्टी ट्वेन्टी क्रिकेट खेल्ने राष्ट्रको मान्यता पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको अष्ट्रेलियाको मेलबर्नमा बसेको बोर्ड बैठकले नेपाललाई ट्वेन्टी ट्वेन्टीको मान्यता दिएको हो ।
बंगलादेशमा सम्पन्न ट्वेन्टी ट्वेन्टी विश्वकपमा गरेको प्रदर्शनलाई आधार बनाएर आइसीसीले नेपाललाई पहिलो पटक ट्वेन्टी ट्वेन्टी क्रिकेटको मान्यता दिएको हो ।
सन् १९९६ मा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको नेपालले १८ वर्षे यात्राका क्रममा पहिलो पटक सबैभन्दा ठूलो छलाङ्ग मारेको हो ।
विश्वकपमा नेपालले चिरपरिचित प्रतिद्धन्द्धी अफगानिस्तान र हङ्गकङ्गमाथि शानदार जित हासिल गर्दा बंगलादेशसंग सम्मानजनक हार बेहोरेको थियो । आइसीसीले नेपालसंगै नेदरल्याण्ड्सलाई पनि ट्वेन्टी ट्वेन्टीको मान्यता दिएको छ । IMAGEKHABAR