उमाकान्त पाण्डे / अखाँटा यूएई डेस्क – । दुबइ – असार १६ ,मुस्लिम समुदायको पवित्र पर्व रमदान आइतबार देखी सुरु भएको छ । मुस्लिम समुदायले आत्मशुद्धिका लागि एक महिनासम्म उपवास बसी आत्मसंयमका लागि प्रार्थना गर्ने पर्वको रुपमा रमदान मनाउदै आएका छन ।
मध्यपूर्वी क्षेत्रका साउदी अरेयिबा, यूएई, इजिप्ट, कुबेत, कतारलगायतका देशहरूमा मुस्लिमहरूको पवित्र महिना रमादान आइतबार सुरु भएको छ । इस्लामिक पात्रोअनुसार चन्द्रमालाई आधार बनाएर रमादान सुरु भएको घोषणा गरिने हुँदा चन्द्रमाको गतिसँगै समयमा आएको फरकले विभिन्न देशमा रमादानको समयमा समेत केही फरक हुने गर्छ ।
मुसलमान समुदायले पवित्र चाड रमादान पर्व एक महिना सम्म मनाउने गर्छन् ।
यस् पर्वमा एकमहिने व्रतमा सधैं खाइरहने धनीहरूले समेत भोकै बसेर गरिबहरूको भोक अनुभव गर्न सक्ने मान्यतामा आधारित छ । यो अवधिभर सबै मुस्लिम उपवास बस्ने गर्छन् । यधपी ‘बालक, बिरामी, मानसिक सन्तुलन ठीक नभएका र अशक्तहरूमा यो उपवास अनिवार्य छैन ।’ रमदान सकिएको भोलिपल्ट ईद-उल फित्र -ईद) मनाइन्छ । ईद नमाज -ईदुलफित्र अदा) पढ्नुअघि आफ्नो बचतको अढाई प्रतिशत रकम वा बचत नभए अढाई केजी गहुँ -फित्रा) बराबरको मूल्य वा अन्न गरिबलाई दान गर्ने संकल्प गर्नु मुस्लिम समुदायमा अनिवार्य छ ।
संसारभरिका मुस्लिमहरूले रमदानको एक महिनासम्म घाम झुल्किएदेखि सूर्यास्त नहुन्जेलसम्म पानीसमेत नपिई कठोर व्रत राख्छन् । इस्लाम धर्ममा रमादानको महिनाभरि स्वर्गको ढोका खुला हुन्छ र नर्कको ढोका थुनिन्छ भन्ने विश्वास रहेको छ । सूर्योदयभन्दा केही समयअघि सेहरी -बिहानको खाना) र सूर्यास्तपछि इफ्तार खाने चलन छ । इस्लाम धर्मावलम्बीहरूले दैनिक पाँचपटक प्रार्थना -नमाज) पढ्ने गर्छन् ।
इस्लामिक मुलुकहरूमा रमादानको महिनाभरि सार्वजनिक स्थलमा खाएको, पिएको वा धूमपान गरेको पाइएमा सजायको भागीदार हुनुपर्ने कानुनी प्रावधान रहेको पाइन्छ ।
संयुक्त अरब इमिरेट्स्मा यो परम्परा उल्ल्लंघन गरिएको पाइएमा एक महिनासम्म जेल सजाय वा दुई हजार-करिब नेरु ४० हजार) सम्म जरिवाना हुनसक्ने यूएईको फेडेरल पेनेल कोर्टमा व्यवस्था छ ।
त्यस्तै यूएईको फेडरल ल १९८० को धारा ६५ मा कामदारले खाइपाई आएको तलब नघट्ने गरी रमादान अवधिभर साविकको काम गर्ने समय ८ घन्टालाई घटाएर ६ घन्टा कायम गरिएको छ ।
यस् पर्वको अवसरमा खाडीस्थित नेपाली मुस्लिम अग्रजहरूले शुभकामना प्रकट गरेका छन् । नेपाल मुस्लिम फोरम फर कल्चर एन्ड डेभलेपमेन्ट, यूएईका महासचिव शाह नवाज अख्तरले यहाँस्थित सम्पूर्ण मुस्लिम र गैरमुस्लिम नेपालीमा रमजानको शुभकामना प्रकट गर्नु भएको छ ।
उहाले ‘जुन मुलुकमा आफू बसोबास गरिन्छ सोही मुलुकको देशको कानुनलाई इमानदारीपूर्वक पालना गर्नुपर्ने इस्लाम धर्मको हदिसमा लेखिएको कुरा उल्लेख गर्दै धार्मिक सहिष्णुताको उदाहरणीय मुलुक नेपालबाट यहाँ आएर बसोबास गर्ने सम्पूर्ण नेपालीबाट सधैंका वर्षजस्तै यस वर्ष पनि यहाँको कानूनको पूर्णता पालना हुनेमा विश्वास गर्नु भएको छ ।
नेपाली मुस्लिम समाज कतारका फाउण्डर मेम्बर तथा संस्थापक महासचिव सामाजिक कार्यकर्ता करिम बकस मियाले यो आत्मशुद्धिको पर्व भएको उल्लेख गर्दै सम्पूर्ण मानवजातिको कल्याणको लागि उपयोगी होस् भन्ने कामना गर्नु भएको छ । उहाले भन्नु भयो ‘सुखीले दुखलाई चिन्ने,दुखमा सुखको अनुभूति हुने,तथा नैतिकता,अनुशासन र आत्मीयताको महिना भएकोले रमदान सम्पूर्ण जगतमा मुबारक बनोस।’
साउदी अरबस्थित गैरआवासीय नेपाली संघका मध्यपूर्व सहसंयोजक समेत रही काम गरेका राजु सैयदले यो पावन पर्वले देशमा संविधान बन्ने आधार तयार गरोस् भन्ने शुभेच्छा प्रकट गर्दै संसारभरिका एनआरएनहरूको प्रगति, समृद्धि र उन्नतिको कामना गर्नु भएको छ ।