गोलकिपर सर्जियो रोमेरोले उत्कृष्ट दुई बचाउ गरेपछि अर्जेन्टिना पेनाल्टी सुटआउटमा ४-२ ले नेदरल्यान्ड्सलाई पन्छाउँदै विहीबार विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब उसले आइतबार राती हुने फाइनलमा जर्मनीको सामना गर्नेछ ।
निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त ३० मिनेटमा सयम गोलरहित बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीको सुटआउटको पहिलो प्रहारमै रोन भ्लारले प्रहार गरेको बल रामेरोले रोकेपछि कप्तान लियोनल मेसीले सटिक प्रहार गर्दै अर्जेन्टिनालाई अगाडि बढाएका थिए । रोमेरोले वेस्ली स्नाइडरको प्रहार पनि असफल बनाए । नेदरल्यान्ड्सका आर्जेन रोबेन र डिक क्युट मात्र सफल रहे ।
दुईपल्टकेा विश्वकप विजेता अर्जेन्टिनाका चारै प्रहारमा बलले जाली चुम्यो । यस्तोमा मेसी, एजेक्वेल गराय, सर्जियो एगुइरो र म्याक्सी रोडि्रग्वेजले पेनाल्टी प्रहार गरेका थिए । अर्जेन्टिना २४ बर्षपछि विश्वकप फुटबलको फाइनल पुगेको हो ।
अर्जेन्टिना सन् १९९० मा भएको विश्वकपको फाइनलमा जर्मनीसँग १-० ले हरोको थियो । डिएगो म्याराडोनाको पालोमा बेहोरेको त्यो हारको बदला मेसी नेतृत्वको अर्जेन्टिनाले दक्षिण अमेरिकी भूमिमै लिने अवसर पाएको छ । अजेन्टिना सन् १९३० मा भएको पहिलो विश्वकपको पनि उपविजेता हो । त्यसबेला आयेजक उरुग्वेले उसलाई ४-२ ले निरास पारेको थियो ।
अर्जेन्टिना अहिलेसम्म ५ पल्ट विश्वकपको सेमिफाइनल पुगेको छ र ती सबै अवसरमा उसले फाइनल यात्रा तय गरेको छ । यस्तोमा अर्जेन्टिना १९७८ मा घरेलु मैदानमै भएको विश्वकपमा च्याम्पियन भएको थियो । त्यसपछि म्याराडोनाको उत्कृष्ट खेलसँगै १९८६ मा दोस्रोपल्ट विश्वविजेता बनेको अर्जेन्टिना मेसी प्रेरित टिमबाट तेस्रोपल्ट च्याम्पियन बन्ने अभियानमा छ ।
दक्षिण अमेरिकामा भएका विश्वकपमा युरोपेली टिम च्याम्पियन भएको छैन । त्यो इतिहास कायम राख्ने चुनौती अर्जेन्टिनालाई छ । र, विश्वकपको सफलतासँगै विश्व फुटबलको महान् र सफल खेलाडी बन्ने अवसर मेसीसामु आएको छ । तर, उनको टिमलाई तीनपल्टको च्याम्पियन जर्मनीलाई फाइनलमा हराउनु सहज भने हुने छैन । किनभने जर्मनी आठौंपल्ट फाइनल पुगेको टिम हो र उसले २००२ यताको विश्वकपमा निरन्तर अन्तिम चारको यात्रा तय गर्दै आएको छ ।
साओ पाउलोमा भएको दोस्रो सेमिफाइनल आकर्षक रह्यो । पहिाले हाफमा अर्जेन्टिनाले राम्रो खेल पस्कियो । मेसीले फ्रि-किकमा आकर्षक रुपमा प्रहार गरेको बलमा डच किपर सिलेसेनले उत्कृष्ट बचाउ गरे ।
दोस्रो हाफमा भने आर्जेन रोबेन प्रेरित नेदरुल्यान्ड्सले प्रंभाव जमायो । तर, उनलाई अर्जेन्टिनी डिफेन्सले सफल हुन दिएनन् । उनले इन्ज्युरी टाइमको अन्त्यमा सेकेन्ड बार च्याप्दै पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बल जाभियर मास्केरानोको खुट्टामा लागेर बाहिरिनु डच टिमको लागि दुर्भाग्य नै रह्यो ।
थपिएको ३० मिनेटमा पनि डच टिम बलियो देखियो । तर, उसले चाहिएको गोल भने गर्न सकेन । त्यसैले चार बर्षअघि दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनल खेलेको नेदरल्यान्ड्सको चुनौती यसपल्ट सेमिफाइनलमै सकियो । अब उसले तेस्रो स्थानको लागि शनिबार आयोजक ब्राजिलविरुद्ध खेल्नेछ ।