काठमाडौं, श्रावण १८ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना धर्मपुत्र नेपाली युवा जीतबहादुर सारुलाई आज परिवारसँग पुनर्मिलन गराएका छन् । त्रिभुवन विमानस्थलमा ओर्लिएलगत्तै बौद्धस्थित होटल हायात पुगेका मोदीले जीतबहादुरलाई उनकी आमा र परिवारका अरु सदस्यसँग पुनर्मिलन गराएका हुन् ।
होटलमा जीतबहादुरलाई उनकी आमा, दाजु, भाउजु र भतिजाभतिजीले भेटेका थिए । भेटपछि खुशी हुँदै आमा थगीसारा सारुले भारतीय प्रधानमत्री मोदीप्रति आभार व्यक्त गरिन् ।
यस्तै, जीतबहादुरले आफूले अहिले भारतको अहमदाबादमा बीबीएको अध्ययन गरिहेको भन्दै पढाई पूरा गरेपछि परिवारसँग बस्ने बताए ।
नवलपरासीका जीतबहादुरको परिवारलाई काठमाडौँ ल्याउन भारतीय दूतावासले आवश्यक व्यवस्था मिलाएको थियो । दश वर्षको उमेरमा घर छोडेर भारत पसेका जीतबहादुरलाई गुजरातमा मुख्यमन्त्री रहँदा नरेन्द्र मोदीले धर्मपुत्रको रुपमा पालनपोषण र शिक्षा दिएका थिए ।



