थुप्रै चर्चित लोकगीत एवं करोडौं मुटुहरुको एउटै ढुकढुकी नेपाल जस्ता राष्ट्रिय गीतका गायक सरोजगोपालको निधन

देउराली उकाली चढेर, नक्कलीलाई भगाइ लग्यो झिल्केले जस्ता थुप्रै चर्चित लोकगीत एवं करोडौं मुटुहरुको एउटै ढुकढुकी नेपाल जस्ता राष्ट्रिय गीतका गायक सरोजगोपालको ६५ वर्षको उमेरमा विहीबार निधन भएको छ। पोखरास्थित निवासमै सुतेको सुत्यै उनको मृत्यु भएको थियो। बिहान आठ बजे उनको शरीरलाई स्थिर देखेपछि छोरीले नजिकैको मेडिकल हलमा पुगेर चिकित्सक बोलाएर ल्याएकी थिइन्। ति चिकित्सकले उनको निधन विहान तीन बजेतिरै भइसकेको जानकारी दिएका थिए।
 
लामो समयदेखि मधुमेह र उच्च रक्तचापका विरामी रहेका सरोजगोपालको निधन हृदयाघातबाट भएको आशंका चिकित्सकले गरेका छन्। उनलाई मधुमेहले निकै दुःख दिएको थियो।
 
‘दुई वर्षअघिसम्म पनि नियमित अस्पताल गइरहेका देखिन्थे,’ अघिल्लो दिनमात्र पनि नातिनातिना लिएर हिँडेको देख्ने छिमेकी एवं कवि तीर्थ श्रेष्ठ भन्छन्, ‘उकालो चढ्न अलिक गाह्रो लाग्न थालेको छ भने पनि पछिल्लो समय भने स्वास्थ्यमा राम्रो सुधार देखिन्थ्यो।’
 
यसरी राम्रै हिँडडुल गर्नथालेका सरोजगोपाल बुधबार बेलुकी पनि राती नौ बजेसम्म टोलको बैठकमा सक्रिय रुपले सहभागी भएका थिए। अप्रत्याशित रुपमा मृत्युको खबर सुनेर उनका छरछिमेक एवं आफन्त नातागोता पनि आश्चर्यमा परेका छन्।
 
परिवारले दिएको नाम गोपाल बज्राचार्य भएपनि गीत गाउन थालेपछि उनले सर्जकहरु जातपातभन्दा माथि हुन्छ भन्दै आफ्नो नामै फेरेर सरोजगोपाल बनाएका थिए। सयौं गीत गाएका उनलाई यसै नामले संसारले चिन्यो।
 
नगरविकास प्रशिक्षण केन्द्रमा लामो समय जागीरे जीवन बिताएका उनले ०४७ सालताका त्यहाँबाट स्वैच्छिक अवकास लिएका थिए। त्यसपछि उनले रेडियो नेपालको पोखरास्थित क्षेत्रीय प्रशारण केन्द्रमा लामै समय कार्यक्रम प्रमुखका रुपमा सेवा गरे।
 
‘गीत संगीतको सोखले नै मलाई रेडियो वरपर राखेको हो,’ १८ वर्षअघि यो संवाददातालाई पोखरास्थित रेडियो नेपालकै कार्यालयमा उनले भनेका थिए, ‘बाँचुन्जेल संगीतकै सेवा गर्ने इच्छा छ।’
 
पछिल्लो समय भने उनले रेडियो नेपाल छाडेर माछापुछ्रे एफएममा स्टेशन प्रमुखका रुपमा काम गरेका थिए। तर, त्यहाँबाट पनि काम छाडेको केहि वर्षै भइसकेको छ। पछिल्लो समय उनले गायिका श्रीमती बाबा राणासँग मिलेर पोखरामै ‘सरोज बाबा युगल साँझ’ मा गीत गाएका थिए। पोखराकै संगीत प्रशिक्षण केन्द्रले त्यसको आयोजना गरेको थियो। पोखरेली युवा साँस्कृतिक परिवार र बागीना नामको साँस्कृतिक संस्थाका संस्थापक अध्यक्ष रहेका उनले केहि दिनअघि मात्रै गायक मित्र अरुण थापाको स्मृति दिवसमा वक्ता रहेर पुराना दिनको सम्झना पनि गरेका थिए।
 
उनका गीतहरुका कारण श्रोतामाझ सदैव जीवित रहिरहने दिवंगत सरोजगोपालको नश्वर शरिरलाई आजै पोखरा