काठमाडौं, भाद्र २५ । एन्फा कप फुटबल प्रतियोगिताको उपाधि झापा क्लवले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा ए डिभिजन क्लव संकटालाई ४-० को फराकिलो अन्तरले हराउँदै झापाले उपाधि जितेको हो ।
एकतर्फी खेलमा झापालाई जिताउन नगेन्द्र लिम्बु, कर्ण लिम्बु, विकास राई र बुद्ध चेम्जोङ्गले एक एक गोल गरे । निकै सशक्त प्रदर्शन गरेको झापाले पहिलो खेलमा ए डिभिजन लिग च्याम्पियन मनाङ्ग मस्र्याङ्दीलाई हराएको थियो भने सेमिफाइनलमा सशस्त्र प्रहरीलाई पराजित गरेको थियो ।
संकटाले पहिलो खेलमा मोरङ्ग क्लवलाई तथा सेमिफाइनलमा त्रिभुवन आर्मी क्लवलाई पराजित गरेको थियो । जितसंगै झापाले उपाधिसहित १० लाख रुपैयाँ जितेको छ । उपविजेता संकटाको भागमा पाँच लाख रुपैयाँ हात लागेको छ ।
दुई सेमिफाइनलिष्टहरु आर्मी र सशस्त्रले समान एक एक लाख जितेका छन् । संकटाका सुमन लामा सर्वोत्कृष्ट खेलाडी बन्दै एउटा मोटरसाइकल जितेका छन् ।
त्यसैगरी गोलकिपरमा झापाका दिनेश थापा, डिफेन्डरमा झापाकै देवेन्द्र तामाङ्ग, मिडफिल्डरमा संकटाका वर्षात गुरुङ्ग, फरवार्डमा झापाका विशाल राई र प्रशिक्षकमा झापाकै भगिरथ आले आफ्नो विधामा उत्कृष्ट चुनिएका छन् । उत्कृष्ट सबैले जनही पचास हजार रुपैयाँ जितेका छन् । IMAGEKHABAR