ठूलो फ्यान फलोइङ हुने सेलिबि्रटीहरू हत्तपत्त आफ्नो रिसलाई सार्वजनिक गर्दैनन्। स्क्यान्डलमा फसिने डरले पनि उनीहरू आलोचनालाई सहिदिन्छन्। तर यस मानेमा दीपिका पादुकोण अलि फरक देखिइन्।
आफ्ना बारेमा छापिएको एउटा समाचारलाई लिएर उनी आक्रोशित भएकी छन्। भारतकै एक प्रतिष्ठित मिडियाले ‘क्लिभेज शो’ मा आधारित भई छापेको समाचार र तयार पारेको भिडियो दुवैमा दीपिकाको क्लिभेजलाई पनि मसला बनाइएको थियो। उक्त समाचारको आसयमा नायिकाहरू फिल्ममा मात्रै नभई सार्वजनिक कार्यक्रममा पनि आफ्नो वक्षस्थल देखाउन आतुर रहने उल्लेख छ। उक्त समाचारमा केवल दीपिका मात्रै सामेल थिइनन्। अरू थुप्रै नायिकाका तस्बिरसहित समाचार प्रेषित गरिएको भए पनि आक्रोश चाहिँ दीपिकाको पहिले सार्वजनिक भएको हो।
आइतबार उनले ट्विटरबाट समाचार र मिडियालाई ठाडो जवाफ दिएकी छन्। ‘फाइन्डिङ फेनी’ नायिकाले ट्विटरमा लेखेकी छन्, ‘हो, म एउटी महिला हुँ। मेरा स्तनहरू छन् र क्लिभेज पनि। यसमा कुनै समस्या छ?’ लगातार ट्विटरमा उनले मिडियाप्रति रोष व्यक्त गरिरहिन्। अर्को ट्विटरमा उनले भनेकी छन्, ‘यदि तिमीलाई महिलालाई कसरी आदर गर्नुपर्छ भन्ने थाहा छैन भने महिला सशक्तीकरणका बारेमा पनि बोल्न छोड।’ उनले त उक्त समाचारलाई समाचारकै रूपमा स्वीकार गर्न पनि नसकिने जिकिर गरेकी छन्। भनेकी छन्, ‘भारतकै कथित अग्रणी न्युजपेपर, के यो समाचार नै हो?’
दीपिका यतिबेला भर्खरै रिलिज भएको ‘फाइन्डिङ फेनी’ का कारण भन्दा पनि टीटरका कारण चर्चामा छिन्। उक्त विषयले यति बेला
ट्विटर सञ्जाल गर्माएको छ। दीपिकाले छेडेको विरोध अभियानलाई यतिबेला बलिउडका धेरैजसो नायिकादेखि अन्य सेलिबि्रटीले पनि काँध थापेका छन्। दीपिकाको समर्थनमा हुमा कुरैसी, इलियाना डिक्रुज लगायतले ट्विटरबाटै खुलेरै समर्थन जनाउँदै उक्त समाचार छाप्ने मिडियाको विरोध गरेका छन्। – AGENCIES, EKANTIPUR