पाली पुरुष क्रिकेट टिम दक्षिण कोरियाको इन्छनमा जारी सत्रौं एसियाली खेलकुदको क्वार्टरफाइनलमा

इन्छन(दक्षिण कोरिया) आश्विन १२ । नेपाली पुरुष क्रिकेट टिम दक्षिण कोरियाको इन्छनमा जारी सत्रौं एसियाली खेलकुदको क्वार्टरफाइनलमा पुगेको छ । समूहका दुवै खेलमा सत्प्रतिशत नतिजा निकाल्दै नेपालले अन्तिम आठमा ठाउँ पक्का गरेको हो ।
पहिलो खेलमा कुवेतमाथि ९ विकेटको जित हासिल गरेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ७ विकेटले पराजित गर्‍यो । खेलमा पहिले ब्याटिङ्ग गरेको माल्दिभ्सले १८ ओभर ५ बलमा अलआउट हुँदै ५३ रनमात्र जोड्न सक्यो ।
सागर पुन, भुवन कार्की र शक्ति गौचनले समान २-२ विकेट लिएको इनिङ्गमा सोमपाल कामी र बसन्त रेग्मीले १-१ विकेट ढाले । जवाफमा नेपालले १४ ओभर २ बलमै ३ विकेट गुमाएर विजय हासिल ग-यो । सुवास खकुरेलले अविजित रहँदै २७ तथा कप्तान पारस खड्काले १५ रनको योगदान दिए ।
अब क्वार्टरफाइनलमा नेपालले बुधबार चिरपरिचित प्रतिद्धन्द्धी अफगानिस्तानको सामना गर्नेछ । प्रशिक्षक पुबुदु दासानायकेले कुवेत र माल्दिभ्ससंगको खेलपछि पिचको अवस्था बुझ्न सजिलो भएको भन्दै अफगानिस्तानविरुद्ध सशक्त भएर उत्रने बताएका छन् ।
पछिल्लो भिडन्तमा विश्वकप ट्वेन्टी ट्वेन्टीमा अफगानिस्तानलाई हराएकाले पनि नेपाली खेलाडीहरुको मनोवल बढेको प्रशिक्षक पुबुदुको भनाई छ । विश्वकप ट्वेन्टी ट्वेन्टी खेलेको नेपाललाई कम्तीमा रजत पदकको दावेदारको रुपमा हेरिएको छ । IMAGEKHABAR