बडादसैंको नवमीका दिन मात्र खुल्ने काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा दर्शनार्थीहरुको ठूलो भीड

काठमाडौं, आश्विन १७ । वर्षको एकदिन बडादसैंको नवमीका दिन मात्र खुल्ने काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा दर्शनार्थीहरुको बिहानैदेखि ठूलो भीड लागेको छ । आज एकैदिन नवमी र दशमी दुबै तिथि परेकाले आज बिहानैदेखि दर्शनार्थीको घुइँचो बढेको हो ।
नेवार समुदायको इष्टदेवीका रुपमा लिइने तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी आउने गर्छन् । मल्ल राजाहरुको इष्टदेवीका रुपमा रहेको तुलजा भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा ल्याएका हुन् ।
सन् १३२५ मा भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी देवीसहित भक्तपुर आएको इतिहासमा उल्लेख छ ।
बसन्तपुरका साथै कीर्तिपुर, फर्पिङ, साँखु, ठिमी, चापागाऊँ, नुवाकोट, दोलखा, वनेपा, पनौती लगायतका ठाउँमा पनि तलेजु भवानीको पूजा आराधना गरिन्छ ।
तत्कालीन राजा रत्न मल्लले सबैभन्दा पहिले भवानीको मन्दिर बनाएको भएपनि पछि वि.सं. १६२० मा महिन्द्र मल्लले भव्य मन्दिर बनाएका हुन् ।
यही मन्दिरको माथिल्लो तलाबाट राजा महिन्द्र मल्लले जनताको घरमा धुरीबाट धुवाँ निस्किएको हेरेपछि मात्र खाना खाने गरेको किम्बदन्ती छ । IMAGEKHABAR