नेपाली एवं हिन्दूको दोस्रो ठूलो चाड तिहार सुरु, आज काग तिहार

नेपाली एवं हिन्दूको दोस्रो ठूलो चाड तिहार आज कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । पहिलो दिन आज काग तिहार, कात्तिककृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेपाल संवत् ११३५ र म्हपूजा (आत्मपूजा) एवं  अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।
ती पाँच दिनसम्म यमराज पनि आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ । यमपञ्चकको पहिलो दिन आज कागको पूजाआजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई यमदूतका रूपमा  समेत मान्ने गरिन्छ । 
आजको दिन कागलाई पूजाआजा गरी खान नदिई आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । आजैका दिनदेखि यमदीप दान गर्नाले यमयातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यमदीप दान दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको धर्मशास्त्राचार्य एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
तिहारमा काग, कुकुर, गाई, गोरु, दाजुभाइ र दिदी बहिनीका अतिरिक्त बलिराजाको पनि पूजा गर्ने चलन छ ।  
बलि राजाको पूजाका सम्बन्धमा एउटा किंवदन्ती  प्रचलित छ  प्राचीन वैदिक कालमा असुरराज बलिले पृथ्वीमा शासन गर्थे, उनी दानी राजाका रूपमा कहलिएका थिए ।
विष्णुले वामन अवतार धारण गरी बलि राजासित ब्राह्मणको भेष धारण गरी तीन पाउको स्थान माग गर्दा एक पाउले अन्तरिक्ष र  अर्काले पृथ्वी ढाकेपछि तेस्रो पाउ राख्ने ठाउँ माग गर्दा बलि राजाले शिर थापेको र शिरमाथि वामन रूपधारी  विष्णुले पाउ राख्दा पातालमा भासिएका थिए ।
विष्णुले बलि राजाको दानशीलतादेखि प्रभावित भई वर्षमा पाँच दिन कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पृथ्वीको शासन गर्ने अधिकार दिई यस समयमा बलि राजाको पूजा गरेमा आफू प्रसन्न हुने वरदान दिएकाले यस पर्वमा बलि राजाको पनि पूजा गर्ने गरिएको प्रा डा गौतमले बताए ।
यही मान्यताका कारण आजकाल पनि द्यौसीभैलो खेल्दा