फिफाद्धारा एन्फा अध्यक्ष गणेश थापा निलम्बित

काठमाडौं, कार्तिक १८ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष एवं एसियाली फुटबल महासंघ (एएफसी)का उपाध्यक्ष गणेश थापालाई फुटबलको सर्वोच्च संस्था (फिफा)ले निलम्बन गरेको छ ।
फिफाले आफ्नो वेबसाइटमा आजदेखि लागू हुने गरी चार महिना अर्थात् एक सय २० दिनसम्म कुनै पनि फुटबलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिमा संलग्न हुन नपाउने गरी थापालाई प्रतिबन्ध लगाएको जनाएको छ ।
फिफाले एन्फामा भएको घोटलाबारे छानबिन भइरहेकाले थप जानकारी दिन नमिल्ने जनाएको छ । 
एन्फाका उपाध्यक्ष कर्माछिरिङ्ग शेर्पाको नेतृत्वको टिमले एन्फामा भएको घोटालाबारे फिफालाई जानकारी गराएपछि फिफाले गणेश थापामाथि कठोर कदम चालेको हो ।
संसदको सार्वजनिक लेखा समितिले पनि छानबिन भइरहेको भन्दै दुई महिना फुटबलका गतिविधिबाट टाढै रहन आदेश दिइसकेको छ । थापाले केही दिनअघि स्वेच्छिक रुपमा आफ्नो काम वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठले हेर्ने निर्णय गर्दै दुई महिना टाढै रहने बताएका थिए ।
थापाका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन गरिरहेका छन् ।
imagekhabar