नेपालले साउदी अरेबियालाई एक सय ९५ रनको फराकिलो अन्तरले पराजित

काठमाडौं, कार्तिक २३ । कुवेतमा सुरु भएको एसीसी अण्डर नाइन्टिन प्रिमियर लिग क्रिकेटमा नेपालले शानदार सुरुवात गरेको छ । नेपालले साउदी अरेबियालाई एक सय ९५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
विजयका लागि तीन सय २२ रनको फराकिलो चुनौती पाएको साउदी अरेबिया ३७ ओभर ५ बलमात्र क्रिजमा टिकेर एक सय २६ रनमै समेटियो । सुशील कणेलले ३ तथा सुनील धमला र दिपेश श्रेष्ठले समान २-२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा एक बल खेल्न बाँकी छँदा सबै विकेट गुमाएर तीन सय २१ रन बनायो । शंकर रानाले ८२ बलमा २ छक्का र ११ चौकाको मद्धतले ८९ रन बनाए ।
कप्तान तथा विकेट किपर राजु रिजालले ४९ तथा दिपेन्द्र सिंह ऐरीले ३२ बलमा ४२ रन जोडे । फैजल खान एक्लैले ५ विकेट झारे ।
ठोस सुरुवात गरेसंगै हौसिएको नेपालले दोस्रो खेलमा सोमबार आयोजक कुवेतसंग खेल्दैछ । यता पहिलो दिनको अर्को खेलमा अफगानिस्तानले मलेसियालाई १० विकेटले हरायो ।
राउण्ड रोबिन लिगको आधारमा जारी प्रतियोगितामा नेपालसंगै कुवेत, साउदी अरेबिया, अफगानिस्तान, युएई र मलेसिया सहभागी छन् । प्रतियोगिता शुक्रबारदेखि हुने तालिका भए पनि केही राष्ट्रका खेलाडीलाई भिसा समस्या भएपछि दुई दिन ढिला गरी सुरु भएको हो । IMAGEKHABAR