अर्घाखाँचीमा उद्यम व्यवसाय विकास कम्पनीद्धारा सञ्चालित तालिमका सहभागीलाई औजार वितरण

अर्जुन भुसाल    



सन्धिखर्क, अर्घाखाँची   । रोजगार कोषको सचिवालय हेल्वेटास, सुइच कोअपरेसनको सहयोगमा उद्यम व्यवसाय विकास कम्पनी ( इडिसी ) ले जिल्लामा विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको छ ।  तालिमबाट  विपन्न समुदायका विद्यालयबाट वञ्चित   युवाहरु  स्वरोजगार बन्न सफल भएका छन् । इडिसिले हालै मात्र पाँच  ओटा तालिमहरु सम्पन्न गरेको छ ।

 


औजार वितरण गर्दै उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ । तस्बिर: अर्जुन भुसाल, अर्घाखाँची डट्कम 

 

 सिलाइकटाइ, मौरीपालन, इलेक्ट्रीसियन र ढाका बुनाइ, ग्रामिण पशु स्वास्थ्य कार्यक्रता सम्बन्धी तालिमहरु सम्पन्न भएको  तालिम संयोजक  प्रकाश भुसालले जानकारी दिए । उनले आगामी दिनमा पनि यस्तै तालिमहरु सञ्चालन गरिने बताए । आवश्यकता अनुसारका तालिम सञ्चालन गर्दै जान्छौं उनले भने, धेरै युवाहरु सिप सिकि आत्मनिर्भर भएका छन ।



 इडिसिले तालिम लिएकालाई व्यवसायमा लगाउन विभिन्न औजारहरु पनि वितरण गर्ने गरेको छ । अहिले सञ्चालनमा आएका तालिमहरुको औजार वितरण तथा  एक कार्यक्रमका बीच सम्पन्न गरिएको छ । तालिम लिएकालाई प्रोत्साहन स्वरुप आठ हजार रुपैंया बरावरका सामग्री  वितरण गरिएको  संयोजक भुसालले  बताए ।  उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले तालिमका सहभागिलाई औजार वितरण गरे । सो कार्यक्रममा बोल्दै श्रेष्ठले इडिसिले गरेका तालिमहरु प्रभावकारी बन्दै गएको प्रति खुसी व्यक्त गरे ।  उनले तालिम लिएर उद्योग खोल्ने  वा व्यवसाय सञ्चालन गर्न लागेका युवाहरुको भविश्य उज्वल भएको भन्दै यस प्रकारका तालिमहरुको आवश्यकता परिरहने बताए । उनले उद्योग बाणिज्य संघले आवश्यक पर्ने सहयोग गर्ने प्रतिवद्धता जनाए । 

 


औजार वितरण गर्दै उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ । तस्बिर: अर्जुन भुसाल, अर्घाखाँची डट्कम 

 

तालिमबाट धेरै वेरोजगार युवाहरुले रोजगारी पाएका छन् उनले भने, अन्य वेरोजगारले  पनि तालिम लिई स्वरोजगार बन्नुपर्छ । ढाका बुनाइ सम्वन्धी तालिम लिएकाले हातबाट बुन्दा धेरै समय लाग्ने हुँदा  धेरै नाफा ननिस्कने बताए । उनले पछि  राम्रो हुँदै गएपछि मेसिनबाट व्यवसाय चलाउनुपर्ने सुझाव दिए । उनले लेभल टु का कक्षा सञ्चालन गर्न सके झनै सिप अभिवृद्धि हुने भन्दै  संभव भए लेभल टुका कक्षाहरु चलाउन आग्रह गरे । संस्थाले गाउँ-गाउँमा गएर तालिम दिन थालेपछि युवाहरु लाभान्वित भएका छन् । यसले जिल्लाको ढिकुरामा इलेक्ट्रीसियन, धनचौरमा मौरीपालन र ग्रामिण पशुस्वास्थ्य कार्यक्रता सम्वन्धी तालिम सम्पन्न गरेको छ । यस्तै सन्धिखर्कमा सिलाइकटाइ र ढाकाबुनाइ सम्वन्धी तालिम सम्पन्न भएका छन् । एक तालिममा २० जना युवा सहभागी भएको जनाइएको छ  । पाँच ओटा तालिमबाट हालै मात्र १ सय युवा, युवतीहरु स्वरोजगार बनेका छन् ।  



इडिसीले जिल्लामा २०१० देखि विभिन्न खाले तालिमहरु सञ्चालन गर्दै आएको छ । अहिले सम्म ८ सय युवाहरुलाई तालिम मार्फत स्वरोजगार बनाएको तालिम संयोजक भुसालले बताए । उनले तालिममा सहभागि सबैलाई कसरी व्यवसायमा सफल बनाउने भन्ने विषयमा पनि छुट्टै तालिमको व्यवस्था मिलाइएको बताए  । सकरात्मक सोंच, नेतृत्व विकास, र सफल व्यक्ति बन्नका लागि छुट्टै तालिम पनि चलाउँछौं  तालिम संयोजक भुसालले  भने । 

अन्य समाचारहरु