सन् २०२२ को विश्वकप फुटबल आयोजनाको जिम्मा पाएको कतार आर्थिक अनियमितताका सम्पूर्ण आरोपहरुबाट मुक्त

सन् २०२२ को विश्वकप फुटबल आयोजनाको जिम्मा पाएको कतारलाई आर्थिक अनियमितताका सम्पूर्ण आरोपहरुबाट मुक्त गरिएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले विहीबार एक प्रतिवेदन सार्वजनिक गर्दै कतारलाई विश्वकप आयोजनाको अधिकार पाउन आर्थिक चलखेल गरेका सबै आरोपहरुबाट मुक्त गरेको जनाएको हो ।
फिफाको प्रतिवेदन सार्वजनिक भएसँगै सन् २०२२ को विश्वकप फुटबल आयोजनाका लागि दाबेदारहरुबीच फेरि मतदान हुने सम्भावना पनि समाप्त भएको छ ।
यसअघि सन् २०२२ को विश्वकप फुटबल आयोजनाको जिम्मा लिन दाबेदारहरुबीच भएको मतदानमा कतारले करोडौं डलर चलखेल गरेको आरोप लगाएर उसबाट आयोजनाको जिम्मा हत्याउने प्रयास भएको थियो ।
फिफाको प्रतिवेदनले कतारलाई आरोपमुक्त बनाएपनि इंग्ल्यान्डलाई भने सन् २०१८ को विश्वकप आयोजनाको होडमा अनैतिक व्यवहार गरेको आरोप लगाएको छ ।
सन् २०१८ मा हुने विश्वकप फुटबलको जिम्मा रुसलाई नदिन इंग्लिस फुटबल संघले फिफाको विधि र प्रक्रिया मिचेको आरोप लगाइएको छ । (एजेन्सी)