नेपालका बसन्त रेग्मी विश्व क्रिकेट लिगमा सर्वाधिक १ सय विकेट लिने पहिलो खेलाडी बनेका छन् । नेदरल्यान्ड्सविरुद्धको आइतबार भएको खेलमा २ विकेट लिएसँगै बसन्तले उक्त कीर्तिमान बनाएका हुन् ।
सन् २००७ देखि सुरु भएको विश्व क्रिकेट लिग संरचनामा नेपालले सन् २००८ देखि खेल्दै आएको छ । त्यसयता ४८ खेल खेलेका बसन्तले आइतबारको खेलपछि सय विकेट पुर्याएका हुन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को एसोसिएट राष्ट्रहरुतर्फ बसन्तको यो अहिलेसम्मकै ठूलो उपलब्धि हो । बसन्तपछि सर्वाधिक विकेट लिने खेलाडी अफ्गानिस्तानका हमिद हसन हुन् । ४२ खेल खेलेका हसनले ७९ विकेट लिएका छन् ।
नेपाली खेलाडीहरुमा बसन्तपछि शक्ति गौचनले ५४ विकेट लिएका छन् । बसन्त, शक्ति र ज्ञानेन्द्र मल्लले विश्व क्रिकेट लिग प्रतियोगितामा नेपालले खेलेका सबै ४८ खेल खेलेका छन् । IMAGEKHABAR