कप्तान पारस खड्का विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताकै म्यान अफ द सिरिज

काठमाडौ, माघ ११ – कप्तान पारस खड्का विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताकै म्यान अफ द सिरिज चुनिएका छन्। नामिबियामा शनिबार सम्पन्न प्रतियोगिता केन्यासँग हारेपछि नेपाल चौथो भएसँगै पारसलाई सर्वोत्कृष्ट खेलाडीको पुरस्कार दिइएको हो।
कान्तिपुरमा समाचार छ। पारस नेपालले नामिबिया र क्यानडालाई हराएको खेलमा म्यान अफ द म्याच भएका थिए। ती दुवै प्रतिद्वन्द्वी विश्वकप खेलिसकेका टिम हुन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आयोजना गर्ने प्रतियोगिताको प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेले ३ अंक पाउँछन्। त्यसपछिका २ उत्कृष्टलाई क्रमशः २ र १ अंक  दिइन्छ।
नामिबिया र क्यानडासँगको खेलमा ६ अंक जोडेका पारसले नामिबियासँगको खेलमा २ अंक पाएका थिए। उनी सर्वाधिक ८ अंकसहित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीका रूपमा ‘म्यान अफ द सिरिज’ चुनिएका हुन्। सुरुका चार खेलबाटै उनको म्यान अफ द सिरिजमा पकड बलियो भएको थियो। उनले विश्व क्रिकेट  लिगमा १ हजार रन पनि यही प्रातियोगितामा पूरा गरेका थिए।
विश्व क्रिकेट लिगका खेलहरूमा म्यान अफ द सिरिजको पुरस्कार पाउने पारस तेस्रो नेपाली हुन्। सन् २००८ मा जर्सीको डिभिजन-५ मा १९ विकेट लिँदै महबुब आलम र मलेसियामा २०१२ मा भएको डिभिजन-४ मा २१ विकेट हात पार्दै वसन्त रेग्मी म्यान अफ द सिरिज घोषित भएका थिए।
केन्याविरुद्ध शनिबार पहिलो बलमै आउट भए पनि पारसले प्रतियोगितामा १ सय ८५ रन बनाउनुका साथै ६ विकेट लिएर अलराउन्ड प्रदर्शन गरेका थिए। उनी २०१२ मा एसीसी ट्रफी इलिटमा नेपाललाई आयोजक यूएईसँगै संयुक्त विजेता हुँदा प्रतियोगिताको उत्कृष्ट खेलाडी भएका थिए। उनी २०१३ मा काठमाडौंमा  भएको एसीसी ट्वान्टी-कपमा पनि म्यान अफ द सिरिज भएका थिए। त्यसमा नेपाल फाइनलसम्म पुगेको थियो।
डिभिजन-२ मा ज्ञानेन्द्र मल्लले नेपालका लागि सर्वाधिक २ सय ३६ रन बनाए। उनी सर्वाधिक रन बनाउने सूचीमा तेस्रो स्थानमा रहे। त्यस्तै बलिङतर्फ सोमपाल कामीले नेपालका लागि सर्वाधिक ११ विकेट लिए। उनी प्रतियोगितामा सर्वाधिक विकेट लिनेको सूचीमा चौथोमा रहे।