नेपालले पहिलो पटक आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको हिजो दुबईमा सम्पन्न बोर्ड बैठकले नेपाल र केन्यालाई वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेलाउने निर्णय गरेको हो ।
आईसीसीले टेष्ट मान्यताप्राप्त १० राष्ट्रसँगै डिभिजन वानको शीर्ष स्थानमा रहेका अफगानिस्तान र आयरल्याण्डलाई पनि २०१९ को विश्वकपका लागि पूर्ण सदस्यमा छनोट गरेसंगै नेपाल र केन्याले लिग च्याम्पियनसिपमा ठाँउ पाएका हुन् ।
आईसीसीले सन् २०१७ को सेप्टेम्बरमा जारी गर्ने एक दिवसीय टीम वरियतामा शीर्ष आठमा रहने टिमले विश्वकपमा सोझै ठाउँ बनाउने छन् । पुछारका चार टीमले भने विश्वकप छनोट खेल्नु पर्नेछ ।
उक्त छनौटमा ती चार टोलीसँगै विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शिर्ष ६ स्थान हात पार्ने टोलीले अवसर पाउनेछन् ।
यो समिकरणले हेर्दा नेपालले सन् २०१९ को विश्वकपमा स्थान बनाउन लिग च्याम्पियनसिपमा शिर्ष ६ स्थानभित्र रहँदै विश्वकप छनौटमा उत्कृष्ट ४ मा पर्नुपर्ने हुन्छ ।
यसै वर्षको मध्यदेखि सुरु हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र केन्यासँगै डिभिजन वानका ६ राष्ट्र हङकङ, नामिबिया, नेदरल्याण्ड्स, पपुवा न्यूगिनी, स्कटल्याण्ड र युएईले प्रतिस्पर्धा गर्नेछन् ।
दुई वर्षसम्म चल्ने यो प्रतियोगिता होम एण्ड अवेको आधारमा संचालन हुनेछ । प्रत्येक टोलीले एक आपसमा दुई खेल खेल्ने प्रतियोगितामा एउटा टोलीले दुई वर्षको अवधिमा कुल १४ खेल खेल्नेछन् ।
५० ओभरका यी १४ खेलमा गरेको प्रदर्शनको आधारमा च्याम्पियनसिप विजेता र अन्य टोलीहरुको वरियता निर्धारण गरिनेछ । IMAGEKHABAR