साँस्कृतिक एवं परम्परागत पर्व होली विधिवत् रुपमा सुरु

काठमाडौं  । साँस्कृतिक एवं परम्परागत पर्व होली विधिवत् रुपमा सुरु भएको छ । यसवर्ष काठमाडौं उपत्यकालगायतका पहाडी जिल्लाहरुमा फाल्गुन २१ तथा तराईका जिल्लाहरुमा फाल्गुन २२ गते होली पर्व मनाइँदै छ ।
काठमाडौंको बसन्तपुरमा विहीबार चीर ठड्याइएसँगै उपत्यकामा यस वर्षको फागु अर्थात् होली सुरु भएको हो । केन्द्रीय मानन्धर संघले काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा विहीबार बिहान ११ बजेर २३ मिनेटको साइतमा विभिन्न रंगका रंगीचंगी कपडा झुन्डाइएका तीन तले चीर गाडेको हो ।
धालासिक्व मानन्धर सनाःगु खलः गुठीका मानन्धरहरुले चीर गाड्नुपर्ने परम्परा मल्लकालीन राजा गुणकामदेवको पालादेखि सुरु भएको मानिन्छ ।
होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ । यस पर्वलाई आपसी कटुताको अन्त्य र सद्भावबृद्धीको पर्वको रुपमा पनि लिने गरिन्छ । बसन्तपुरमा गाडिएको चीर ढालेपछि होली पर्व सकिएको मान्ने परम्परा छ । – इमेजखबरमा समाचार छ ।